
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एशियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार काठमाडौं आइपुगेका हुन् ।
नेपालमा भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी) नेपालले अस्वीकार गर्ने निर्णय गरेको सन्दर्भमा छलफल गर्न उनी नेपाल आएको बताइएको छ ।
केही समयपहिले मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणलगत्तै अमेरिकाको तर्फबाट गरिएको उच्च स्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ ।
अमेरिकी दूतावासले उनको भ्रमणलाई नियमित भनेको छ । तर, गतवर्ष एमसीसी नेपालको संसदबाट पारित गराउन दबाब दिने उद्धेश्यले नेपाल भ्रमण गरेका उनको यो भ्रमणका विषयमा फरक–फरक कोणबाट छलफल भइरहेको छ ।
नेपाल सम्बन्धलाई लिएर चीन र अमेरिकाबीच बेलाबेलामा आरोप प्रत्यारोप चलिरहेको छ । प्रस्तावित रहेकै अवस्थामा अमेरिकी राजदूतले चीनको असहमतिका बीचमा नेपालको संसदले एमसीसी पारित गरेको अभिव्यक्ति दिएका थिए । त्यसको चीनले खण्डन गरेको थियो ।
अमेरिकाले नेपालसँग एसपीपी सम्झौता गर्न चाहेको छ । तर, गठबन्धन दलभित्रै उक्त सम्झौताको विरोध भएपछि मन्त्रिपरिषदले उक्त सम्झौतामा सहभागी नहुने निर्णय गरेको थियो । यद्यपि सरकारले उक्त निर्णय अमेरिकालाई जानकारी नगराएको चर्चा चलिरहेको छ ।
सत्ता गठबन्धन भित्रकै दलहरूले सरकारले अमेरिकालाई एसपीपीमा सहभागी नहुने निर्णयबारे औपचारिक रूपमा पत्राचार नगरेको भन्दै विरोध गर्दै आइरहेका छन् ।