असार २२, २०७९
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेको छ । निर्वाचन आयोगले पनि सरकारलाई निर्वाचन मिति घोषणाका लागि सुझाव दिइरहेको छ । तर, यसबीचमा निर्वाचनको मिति घोषणापछि संसद् रहने क...
काठमाडाैं | साउन १२, २०७९
सत्तारूढ पाँचदलीय गठबन्धनभित्रका वामपन्थी झुकाव राख्ने दलहरू मिलेर समाजवादी केन्द्र वा मोर्चाको रूपमा उप–गठबन्धन बनाउनेबारे नेताहरूबीच घनिभूत छलफल चलिरहेको छ ।
त्यसमा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको प्रस्ताव गरिरहेका छन् ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने गरी वाममोर्चा बनाउने तयारी भइरहेका बेला एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकताको पहल गर्ने निर्णय पनि गरेको छ ।
यसै सन्दर्भका जानकार एव नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं पार्टीको केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरसँग लोकान्तरका लागि उद्धव थापाले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :
नेकपा (एकीकृत समाजवादी)को पछिल्लो सचिवालय बैठकले पार्टी एकताको पहल गर्ने भन्ने निर्णय गरेको छ । पार्टी एकता माओवादी केन्द्रसँग कि नेकपा एमालेसँग गर्ने भनिएको हो ?
नेकपा (एकीकृत समाजवादी)को ३२ औं सचिवालय बैठकले गरेको निर्णय के हो भने वर्तमान ५ दलीय गठबन्धनलाई कायम राख्दै वामपन्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेका छौं ।
त्यसो भनेको, अहिलेको पाँचदलीय गठबन्धन कायम नै हुनुपर्छ र यसलाई कुनै हालतमा भत्काउन हुँदैन भन्ने हो । त्यसो भए पाँचदलीय गठबन्धनभित्रको वामपन्थीहरू कि बाहिरको भन्ने प्रश्न आउँछ । पाँचदलीय गठबन्धनमा रहेका कांग्रेसबाहेक सबै वामपन्थी दलहरू नै हुन् । ती दलहरूको नाम फरक होला, त्यो भिन्नै कुरा हो । गठबन्धनभित्र रहेको चार दल एक ठाउँमा होऔं है भनेको हो ।
त्यसबाहेक, गठबन्धनभन्दा बाहिर रहेका दलहरू जस्तै, मोहन वैद्य, नेत्रविक्रम चन्दले नेतृत्व गरेका दलहरू छन् । एमालेभित्रै पनि असल मान्छेहरू छन् ।
दक्षिणपन्थी दलदलमा भासिएको केपी ओली प्रवृत्तिको वरिपरि घुम्ने तत्त्वबाहेक त्यहाँ पनि असल इमान्दारहरूको ठूलो पंक्ति छ । उनीहरूलाई पनि कुनै न कुनै रूपमा प्रभाव पार्नुपर्ने छ । हुन त त्यो त्यति सरल छैन । हामीले त विद्रोह गर्न आँट गर्यौं र छुट्टै पार्टीको अस्तित्वमा छौं । त्यहाँबाट वामपन्थी गठबन्धनमा आउनका लागि त त्यस्तै विद्रोह गरेर आउनुपर्ने हुन्छ । त्यहाँ विद्रोह गर्ने अवस्थामा रहेको समूह पनि छ ।
विद्रोह गरेर आएको हुनाले हामीले पहिलो दिनबाटै भन्दै आएका छौं कि वृहत्तर वामपन्थी एकताको निम्ति पहल गर्छौं । सबैभन्दा ठूलो पार्टी बनाएरै छाड्छौं भनेका छौं । त्यही उद्देश्यका लागि एकताको पहल गर्ने निर्णय भएको हो ।
पार्टी एकताका लागि तपाईंहरूले अहिले के–के काम गरिहनुभएको छ ?
वृहत्तर वामपन्थी एकताका लागि निरन्तर काम भइरहेका छन् । कहिले हामी र माओवादी केन्द्रका बीचमा छलफल भइरहेको छ, कहिले बाबुराम भट्टराई र हाम्रो बीचका कुरा भएको छ ।
कहिले त्रिपक्षीय, कहिले द्विपक्षीय कुराकानी भइरहेका छन् । उपेन्द्र यादव, मोहन विक्रम, नेत्रविक्रम चन्द, मोहन वैद्य लगायतले नेतृत्व गरेका पार्टीहरूका बीचमा पनि कुराकानी गरिरहेका छौं । मूल प्रवाहमा आउन नसकेका कतिपय दलहरू, साना समूह व्यक्ति छन्, उनीहरूसँग पनि हाम्रो कुराकानी भइरहेकै छ ।
तपाईंहरू अहिले समाजवादी धारको एउटै पार्टी बनाउने भनेर घनिभूत छलफलमा हुनुहुन्छ । समाजवादी केन्द्र भन्ने पार्टी बनाउने काममा चाहिँ कत्तिको प्रगति भइरहेको छ ?
समाजवादी केन्द्र हो कि समाजवादी मोर्चा बनाउने भन्ने कुराको निष्कर्षमा अहिल्यै पुग्ने बेला भएको छैन । अहिले कुरा भइरहेको छ, त्यो सकरात्मक दिशामा छ ।
अहिल्यै निष्कर्षमा पुगिहाल्ने बेला भएको छैन । कम्युनिस्ट एकता केन्द्रको बारेमा पनि कुरा भएको छ । समाजवादी मोर्चाको बारेमा पनि कुरा भएको छ । वाममोर्चाको बारेमा कुरा भएको छ । चुनावमा जाँदा नेपाली कांग्रेस र वाममोर्चा सहकार्य गरेर चुनावमा जाने अवस्था पनि हुनसक्छ । यी विभिन्न विकल्पमा छलफल भइरहेका छन् ।
हामीले चाहेको चुनावसम्मका लागि मात्रै वाम एकताको कुरा होइन, पछिसम्म पनि वाम एकता कायम होस् भन्ने चाहना हो । पछिसम्मको कुरा हो । अहिले तत्कालैचाहिँ वामपन्थी एकता भएन भने के त भन्दा चुनावमा तालमेल, गठबन्धन, मोर्चा जुनसुकै रूपमा जान सकिन्छ । यसलाई सम्बोधन गर्नका लागि सबैलाई सुपाच्य हुने नाम समाजवादी केन्द्र पनि हुन सक्छ, वामपन्थी मोर्चा पनि हुनसक्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तपाईंहरूलाई पटक–पटक पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । माओवादी र एकीकृत समाजवादीलाई मिलाएर नेकपा समाजवादी केन्द्र बनाऊँ भन्ने उहाँको प्रस्तावमा तपाईंहरूको धारणा के हो ?
त्यस्तो प्रस्ताव पनि आएको छ । उहाँले हामीसँग बारम्बार पार्टी एकता गरौं भन्नुभएको छ । उहाँको त्यो प्रस्ताव हामीलाई अलि हतारो लागिरहेको छ । हामी तत्कालैचाहिँ माओवादी केन्द्र वा एमाले कुनैसँग पनि पार्टी एकता गर्ने पक्षमा छैनौं । हामीभित्र ती दुईवटै विचारले प्रवेश पाइरहेकै छ । एमालेसँग पार्टी एकता गर्न नसक्ने कैयौं कारणहरू छन् ।
हामीले विद्रोह गर्दाका कारणहरू तार्किक समाधानमा नपुग्दासम्म एमालेसँग एकताका लागि सोच्ने कुरै हुँदैन । एमालेसँगको विषयलाई लिएर काफी चर्चा हुने गरेको छ । म स्पष्ट गरौं, एमालेसँग तत्काल एकताको कुनै सम्भावना छैन ।
हामीले विद्रोह गर्नुको औचित्य पुष्टि गरेरै यहाँसम्म आइपुगेका छौं र पार्टी निर्माण गरिरहेका छौं । अब एमालेसँग मिल्न जाने भनेको अहिलेसम्मको हामीले गरेको सबै प्रयास धूलोमा मिसाएर केपी ओलीले भनेको मान्ने रूपमा जाने हो र त्यो एक प्रकारको लम्पसारवाद नै हुन्छ । त्यस्तो काम किमार्थ गर्न सक्दैनौं ।
माओवादी केन्द्रसँग पनि तत्कालै एकता भइहाल्ने अवस्था छैन । उनीहरूका कतिपय विषयमा हामीले बहस गरिरहेकै छौं ।
तपाईंहरू एमालेमा हुँदा माओवादीसँग मिलेर एउटै पार्टी बनाएकै हो । अहिले पनि सहकार्यमै हुनुहुन्छ । नीति, एजेन्डा उस्तै देखिन्छन् । हिजो मिलिसकेको पार्टीसँग फेरि मिलेर एउटै पार्टी बनाउन के आपत्ति भयो र ?
जुन भिन्नताको आधारमा पार्टीबाट विद्रोह गरेका छौं, त्यो त हामीले पुष्टि गरिरहेकै छौं नि ! हिजो दुई पार्टी मिलेर नेकपा नै हुँदा पनि त हाम्रा मतभिन्नताहरू थिए । नवौं महाधिवेशनकै कुरा गर्ने हो भने नीति विचार हामीले राखेको पास भयो । धाँधली गरेर प्राविधिकरूपमा नेतृत्व केपी ओलीले हत्याएका हुन् ।
त्यहाँ भएको मत भिन्नतालाई साँघुरो बनाएर समाधानको बाटोमा जानुभन्दा केपी ओलीले आफूलाई सबैभन्दा अहंकारी, दम्भी, घमण्डी, अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिका रूपमा प्रस्तुत गरे । त्यसैकारण, हामीले विद्रोह गर्नुपर्ने अवस्था आयो । माओवादी केन्द्रसँग पनि कतिपय विषयमा हाम्रा मतभिन्नताहरू छन् ।
निर्वाचन नजिकिँदै गर्दा समाजवादी केन्द्रको चर्चा भइरहेको छ । चुनावकै लागि मात्रै समाजवादी केन्द्रको आवश्यकता परेको हो कि त्यसभित्र अरू कारणहरू पनि छन् ?
अहिले भइरहेको पाँचदलीय गठबन्धन त संविधान र लोकतन्त्र जोगाउने खास मिसनका लागि बनेको थियो । चुनाव त पछि समयक्रमसँगै जोडिएको कुरा हो । चुनावमा अग्रमणकारी शक्तिलाई विजयी तुल्याएर प्रतिगमनकारी शक्तिलाई पराजित गर्नका लागि तालमेल आवश्यक भयो । संघीयता, संविधान, गणतन्त्रलाई कमजोर पार्ने तत्त्वहरूले मुन्टो उठाउने अवस्था रहँदासम्म यो गठबन्धनको आवश्यकता रहन्छ ।
गठबन्धनभित्र नेपाली कांग्रेस र वामपन्थी दलहरू छन् । त्यसैले यसलाई वाम–लोकतान्त्रिक गठबन्धन भन्ने गरिएको हो । वामपन्थीहरूको बीचमा स्वाभाविकरूपमा सरसल्लाह हुन्छ । सकिन्छ भने एउटै मोर्चा बनाएर जाऔं, सकियो भने एउटै चुनाव चिह्न बनाएर जाऔं भन्ने विषयमा विचार मिल्नेहरूको बीचमा कुराकानी हुनु अस्वाभाविक होइन । भलै, एउटै चुनाव चिह्नको कुरा गर्दा त्यसमा अन्य प्राविधिक कुराहरू पनि जोडिएर आउँछन् ।
सत्तारूढ गठबन्धनभित्र कांग्रेसले बढी नै पेल्न थाल्यो अब हामी नमिली हुँदैन भन्ने चेत विस्तारै पलाउन थालेकाले पनि गठबन्धनभित्रको वामपन्थी एकताको कुरा आएको होला हैन ?
यो आमसञ्चार जगत, बौद्धिक वर्ग र वामपन्थी धारमा रहेर सोच्ने व्यक्तिहरूले विश्लेषण गर्न सक्छन् । तर, हामीले त्यसो भन्न मिल्दैन ।
कांग्रेसका कतिपय उत्ताउला नेताहरूले हामीलाई उपल्लो छेउमा जाओस् भनेर विभिन्न टिप्पणी गरिरहेका छन् । समाजवादीलाई यति सिट, अथवा यति सिट पनि दिन सकिँदैन भन्ने जस्ता टिप्पणी गरेर ‘ह्युमिलेट’ गर्न खोजिरहेका छन् । अनि हामीले वामपन्थी एकताको कुरा गरेर उनीहरूले गरेको ‘ह्युमिलेट’को जवाफ दिन नमिल्ने भन्ने हुन्छ र ? वामपन्थी एकताको कुरा डङ्का पिट्ने वा नाङ्लो ठटाउने हिसाबले मात्रै गर्न खोजेको होइन । वामपन्थी पार्टीहरू मिलेर चुनावमा जाँदा कांग्रेसको अवस्था के हुन्छ भन्ने कुरा त कांग्रेसभित्रै चर्चा भएको छ नि ! कांग्रेस सभापतिले कम्युनिस्टहरू मिल्दा लौ त एकजना जितेर देखाऊ भन्ने अवस्था त्यसै आएको होइन ।
कतिपयले चाहिँ कांग्रेसलाई तर्साउनका लागि वामपन्थी गठबन्धनको कुरा आएको भन्ने चर्चा पनि गर्छन् नि ?
यही विषय मलाईचाहिँ मन परिरहेको छैन । अनि, कांग्रेसले तर्साइरहेको छैन ? कांग्रेसका नेताहरूले के–के बोलिरहेका छन् भन्नेचाहिँ याद गर्नुपर्दैन ? पाँचदलीय गठबन्धनभित्र हामी नहुने हो भने कांग्रेसको हालत के हुन्छ ? चुनावमा कांग्रेस एक्लै जाने आँट गरोस त् । यसै पनि एमाले एकातिर हामी एकातिर हुने अवस्था बनिसक्यो । कांग्रेस पनि एक्लै चुनावमा जाओस् न त । कांग्रेस एक ठाउँमा, एमाले एक ठाउँमा र अरू एक ठाउँमा भएर चुनाव लड्ने अवस्था आउँदा के हुन्छ भन्ने अवस्थाको आँकलन भएको छ कि छैन त ?
तपाईंले नै प्रसंग निकाल्नुभयो, आगामी चुनावमा तीनवटा पोल बनेर त्रिपक्षीय प्रतिस्पर्धा हुँदा समाजवादी केन्द्रको अवस्थाचाहिँ कस्तो हुने आकलन छ ?
हामी त्यसको अन्तिम निष्कर्षमा पुगिसेका छैनौं । यस विषयको छलफलमा म धेरै सहभागी पनि छैन । हाम्रो पार्टीबाट एक जना उपाध्यक्ष र महासचिवले ती विषयमा छलफल गरिरहनुभएको छ ।
उहाँहरूले दिनुभएको जानकारी अनुसार उत्साहजनक छ भन्ने सुनेको छु । त्यो दिशातिर अग्रसर हुनु भनेकोचाहिँ हामीले सचिवालयमा सही निर्णय गरेका छौं । वर्तमान गठबन्धनलाई कायम नै राखेर वाम एकताका निम्ति पहल गर्ने भन्ने कुरालाई कार्यान्वयन गराउने जिम्मेवारी पनि हाम्रै हो ।
तपाईं वामपन्थी एकता र राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक पोलको कुरा गरिरहनुभएको छ । तर, एकीकृत समाजवादीभित्र नै एउटा पक्षचाहिँ एमालेतिर आँखा लगाइरहेको छ भन्ने चर्चा पनि सुनिन्छ नि ?
त्यो गलत हो । पार्टीमा त्यस्तो विभाजन छैन । हाम्रो पार्टीभित्र औपचारिक, अनौपचारिक विभिन्न छलफल हुने गर्दछन् । अनौपचारिक छलफलमा कसैलाई एमालेसँग मिले हुन्थ्यो जस्तो लाग्ला, त्यही अनुसार भन्नुहुन्छ, कसैलाई माओवादीसँग सहकार्य गर्न सहज हुन्छ भन्ने जस्तो लाग्ला, त्यही अनुसार भन्लान् ।
हामीले भर्खरै राजनीतिक, वैचारिक, देशको आर्थिक अवस्था र समस्या समाधानका सम्भावित उपायको बारेमा लामो छलफल गरेका छौं । त्यस्ता लामा र विस्तृत छलफलमा पनि यता वा उता जाने भन्ने बारेमा मतहरू व्यक्त भएका छैनन् । हाम्रो पार्टीभित्र पनि विभाजन कोर्न चाहनेहरूले त्यस्ता चर्चा चलाएका हुन सक्छन् । विभाजन ल्याउन सकिन्छ कि भनेर प्रयास पनि गरेका होलान् ।
चुनावमा सहभागी हुँदा पाँचदलीय गठबन्धनभित्र वा वामपन्थी मोर्चाभित्र एकीकृत समाजवादीले कति सीटमा दाबी गर्छ ?
हामीले अहिले सिटको हिसाब गरेका छैनौं । दाबी अहिले गरेका पनि छैनौं । र, अहिले भन्दा पनि भन्दैनौ । गठबन्धनमा रहेका दलहरूका बीचमा सम्मानजनक ढंगले सिटको बाँडफाँड हुनुपर्छ भन्ने पक्षमा छौं । स्थानीय चुनावको बेला केही कमीकमजोरी भएका छन् । हाम्रो विद्रोहको शक्ति, भावना र त्यागको सम्मान हुनुपर्छ कि पर्दैन भन्ने कुरा गरिरहेका छौं ।
अपमानकै खातिर कसैका लागि सहादत प्राप्त गर्नुपर्ने थियो भने त एमालेमै अपमान सहँदा भइहाल्थ्यो नि ! हामी अपमानित हुनका लागि जन्मिएका हैनौं । हाम्रो जे हैसियत हो त्यसको उपयुक्त ढंगले सम्मान र आदर हुनुपर्यो । कोही (कांग्रेस) दिन बसेका र हामी लिन बसेका जस्तो गरी व्यवहार हुनुहुँदैन ।
निर्वाचनको मिति घोषणा हुनुपर्ने समय घर्किसक्यो । गठबन्धनभित्र चाहिँ चुनाव सारेर फागुनमा गर्ने बारेको पनि चर्चा भइरहेको छ भन्ने सुनिन्छ । चुनावको मिति घोषणामा सरकारले किन अलमल गरिरहेको हो ?
यसमा मैले दुईवटा कुरा बुझ्छु, सरकारले चुनावको मिति घोषणाका लागि परामर्श र सम्पूर्ण तयारी गर्नुपर्छ, त्यसका लागि समय लागेको हुनसक्छ । आर्थिक र मानवस्रोत दुवैको व्यवस्थापन सरकारले गर्नुपर्छ । त्यसका लागि सरकारले पर्याप्त समय खोज्छ ।
हाम्रो निर्वाचन कानूनले पनि निर्वाचन आयोग र सरकारको परामर्शमा मात्रै चुनावको मिति घोषणा हुने व्यवस्था गरेको छ । अहिले उहाँहरू परामर्शमा हुनुहुन्छ । उहाँहरूको परामर्शकै आधारमा चुनावको मिति तोकिन्छ ।
दोस्रो कुरा, कानूनी र संवैधानिक जटिलताको विषयमा पनि ध्यान दिनुपर्छ । हामीले यो कुरा स्थानीय तह निर्वाचनकै बेलामा भनिदिएको हो । कानूनी जटिलता फुकाएर स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकै चरणका हुने व्यवस्था गर्दा समय, खर्चको हिसाबले उपयुक्त हुन्थ्यो ।
एकै चरणमा चुनाव गरौं भन्दा हामीमाथि विभिन्न टिप्पणीसमेत गरिएको थियो । चुनावको मिति घोषणा गरेपछि अमूक कोही अदालतमा जाने र प्रश्न उठाउने कानूनी जटिलता फुकाएर चुनावमा जाँदा राम्रो हुन्छ भन्ने कुरा अहिले पनि हाम्रो छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जानका लागि त्यस्तो कानूनी जटिलता के छ र ?
कानूनी जटिलता छ नि ! मंसिर ४ र २१ गते दुई चरणमा गरेर चुनाव भएको थियो । फागुनको २१ गते सांसदले सपथ ग्रहण गरेका थिए । त्यसो हुँदा संसद्को कार्यकालको प्रश्न यसमा जोडिन्छ । हिजो स्थानीय तहको चुनावमा पनि यस्ता विषय आएका थिए ।
संविधानले स्थानीय तहका प्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने व्यवस्था हुँदा पनि कसैले डाँडामा बसेर कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्छ भनेर कौलासेका कारणले हाम्रा कुरा सुन्दै नसुनी चुनावमा जाने अवस्था बनेको थियो । त्यतिबेला प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको कुरा पनि नउठेको होइन । हामीले त सबै चुनाव एकै चरणमा गरौ भनेका थियौं ।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावको बारेमा कानूनी जटिलता आउने विषय हो भने को–को बस्नुपर्छ, छलफलमा बसेर टुंगोमा पुग्नुपर्छ । यसमा निर्वाचन आयोग, सरकारका प्रतिनिधिहरू बसेर छलफल गर्ने तयारीबारेको अनौपचारिक कुरा पनि मैले सुनेको छु । त्यस्तो छलफल नहुन पनि सक्छ ।
अबको क्याबिनेट बैठकले चुनावको मिति घोषणा गर्ने चर्चा पनि भइरहेको छ । तर, जहिले चुनाव भए पनि हामी प्रतिस्पर्धा गर्न तयार नै छौं । मंसिरको ४ होस् वा फागुन २४ गते चुनाव होस् त्यसमा हामीलाई केही आपत्ति छैन । कुनै पनि बेलामा हुने चुनावका लागि हामी तयार भएर बसेका छौं ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेको छ । निर्वाचन आयोगले पनि सरकारलाई निर्वाचन मिति घोषणाका लागि सुझाव दिइरहेको छ । तर, यसबीचमा निर्वाचनको मिति घोषणापछि संसद् रहने क...
स्थानीय तहमा फेरि पनि पहिलो राजनीतिक शक्ति बन्ने उद्घोषका साथ चुनावमा होमिएको एमाले करीब एकतिहाइ शक्ति गुमाएर दोस्रो दलमा सीमित भयो । अध्यक्षको लोकप्रियता र पार्टी प्रवेशको लहरको आधारमा जीत निकाल्ने एमाले न...
स्थानीय तहको निर्वाचनमा जुन अपेक्षा गरिएको थियो त्यसअनुसारको नतिजा आएन । तर, जुन नतिजा आएको छ त्यो नै नकरात्मक भयो भन्ने चाहिँ होइन । अपेक्षा अनुसारको नजिता नआउनुमा विविध कारणहरू छन् । सबैभन्दा पहिल...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । जसपाका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीमा आफ...
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका घटक दलहरूबाट जसपाका उम्मेदवारलाई हराउनका लागि राजनीतिक षड्यन्त्र र बेइमानी भएको आरोप लगाएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले गठब...
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...