१७ असार २०८३, बुधबार

विप्लवको पार्टीको चेतावनी– तीनबुँदे सहमति कार्यान्वयन गरिएन भने हातमा दही जमाएर बस्दैनौँ

विप्लवको पार्टीको चेतावनी– तीनबुँदे सहमति कार्यान्वयन गरिएन भने हातमा दही जमाएर बस्दैनौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरिए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सोमवार जिल्ला अदालत ललितपुरले विप्लवसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उक्त पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति स्मरण गराएको हो । 

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा सरकारले पछिल्लो कदम अमेरिकी साम्राज्यवादी हस्तक्षेपको उपज भएको उल्लेख गरिएको छ । ‘देश र जनताका विद्यमान यावत समस्याविरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वविरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्‍याएको छ,’ प्रकाण्डले भनेका छन्, ‘यसको प्रतिवाद गर्न र प्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत, मानवअधिकार एवं कानुनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’ 

उनले आफूहरूविरुद्ध जारी भएको पक्राउ पुर्जी तीनबुँदे सहमतिविपरीत भएको दाबी गरेका छन् । ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटना तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ’ उनले भनेका छन्, ‘यसबाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’ 

यसअघि सशस्त्र संघर्ष गरिरहेको विप्लव समूह सरकारसँग ३ बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्