
अमेरिकी सभामुख न्यान्सी पलोसी मंगलवार राति ताइवान पुग्ने ताइवानको टीभीबीएस न्युजले स्रोतहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।
चीनले पलोसीलाई ताइवानको भ्रमण नगर्न चेतावनी दिएको भए पनि अटेरी गर्दै उनी त्यता जान लागेकी हुन् ।
सोमवार उनी सिंगापुर पुगेकी छन् । त्यहाँबाट उनी मलेसिया, दक्षिण कोरिया र जापान पनि जाने र लोकतान्त्रिक शासन व्यवस्थाका बारेमा कुराकानी गर्ने बताइएको छ ।
पलोसीले ताइवानको भूमिमा ओर्लनका लागि विमानमा तेल भर्ने वा आकस्मिक केही परेको बहाना बनाउन सक्ने चीनका सरकारी सञ्चारमाध्यमहरूले लेखेका छन् । तर पलोसी ताईपेई पुगिन् भने त्यसको असह्य परिणाम भोग्नुपर्ने भन्दै बेइजिङले चेतावनी दिएको छ ।