
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएको हो ।
रमेश पौडेलको रचना रहेको गीत नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा झण्डै २ दशकअघि सार्वजनिक गरिएको थियो । अहिले पनि उत्तिकै चर्चित गीतलाई चलचित्रका लागि रिमेक गरिएको हो ।
श्यामश्वेत रसाईलीको एरेन्ज तथा मिक्सिङ रहेको रिमेक गीतमा युवा पुस्ताका गायक निशान भट्टराईले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकारहरू डेब्यू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । ‘परदेशी २’ दशैंको अवसर पारेर असोज १४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा प्रकाश र केकीका अलावा वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल र नारायण रायमाझीको लगानी रहेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
चलचित्रमा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रलाई काठमाडौंमा डीसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।