
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
काठमाडौंको तारकेश्वर–११ काभ्रेस्थलीमा भएको घटना पारिवारिक विवादले निम्तिएको पाइएको छ । पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोरा र छोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको अनुमान गरिएको छ ।
उनले ३५ वर्षकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र वर्ष ८ का छोरा आशिषको हत्यापछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको विषयमा यसअघि पनि पटकपटक विवाद भएको छिमेकीले बताएका छन् । छिमेकीहरूका अनुसार पाण्डे दम्पतीबीच श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको विषयमा पटक–पटक विवाद भएको थियो ।
दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए । उनकी श्रीमतीले भने उक्त आरोप अस्वीकार गर्दै आएकी थिइन् । यसअघि पनि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । उनीहरूले प्रहरी वृत्तमा गएर छलफलसमेत गरेका थिए ।
पाण्डेकी छोरी आर्मी स्कुलमा पढ्ने गर्थिन् । उनी बसमा स्कुल आउने जाने गर्थिन् । बस लिन आउँदा आशिका नआएपछि बसका चालकसहित विद्यार्थीहरू बोलाउन घरमै जाँदा घटनाको बारेमा थाहा भएको हो । झ्यालबाट भित्र हेर्दा सबैको शव देखेपछि उनीहरूसहित छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेकाले हत्यामा अन्यको संलग्नता हुन नसक्ने प्रहरीको अनुमान थियो । ढोका फोडेर भित्र पस्दा पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैंले पनि आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।
०००
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी सीमामा नाका खोलेका कारण आफूलाई २०७३ सालमा प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।
२००८ सालमा मात्रिका कोइरालाले उत्तरी सीमामा भारतीय सैनिक क्याम्प राख्न गरेको सहमति कीर्तिनिधि विष्टले अस्वीकार गर्दा प्रधानमन्त्रीबाट हटाइएको प्रसंग उनले स्मरण गरे ।
पूर्व सचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रब्युहमा नेपालको जलस्रोत’ नामक पुस्तकको विमोचन कार्यक्रममा ओलीले राष्ट्रप्रतिको इमान्दार अडान लिँदा पद छाड्नु परे पनि तयार हुनुपर्ने बताए । राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि काम गर्न नहुने उनले बताए ।
‘नाकाबन्दीको बेला उत्तरतिरबाट नाका खोलें, अब उप्रान्त नाकाबन्दी हुँदैन भनेर । त्यसपछि मलाई हटाइन्छ भन्ने थाहा थियो । भयो त्यस्तै । म फर्केर आएपछि उद्योग शुरू भयो, केही महिनामा उद्योग सफल भयो,’ ओलीले भने ।
०००
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अगुवाइमा सोमवार सभामुख सापकोटासँग ४५ मिनेट छलफल भएको थियो ।
नेपाल बार एसोसिएसनकी महासचिव अन्जिता खनालले सभामुखसँगको भेटमा महाभियोग प्रस्ताव अगाडि नबढाइएकोमा चासो व्यक्त गरिएको बताएकी छन् ।
‘नेपाल बारको यसअघिको कार्यसमितिले १७ बुँदे ज्ञापनपत्र दिइसकेको छ । महाअभियोगको प्रस्ताव अगाडि बढाउन त्यसमा नै पर्याप्त प्रमाण छ तै पनि कारबाहीको प्रक्रिया किन अगाडि बढेको छैन भनेर हामीले सभामुखज्यूको ध्यानाकर्षण गराएका थियौँ,’ महासचिव खनालले लोकान्तरसँग भनिन्, ‘त्यसबाहेक प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव घोषणा भए महाअभियोग प्रस्तावको के हुन्छ भन्ने विषयमा पनि उहाँको धारणा माग्यौँ ।’
सभामुख सापकोटाले बजेट अधिवेशनमा व्यस्त भएकोले उक्त प्रस्ताव अघि नबढाएको बार पदाधिकारीलाई बताएका थिए । उनले अब छिट्टै उक्त महाभियोग प्रस्तावलाई निष्कर्षमा पुर्याइने जवाफ दिएको खनालले बताइन् ।
०००
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरिए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सोमवार जिल्ला अदालत ललितपुरले विप्लवसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उक्त पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति स्मरण गराएको हो ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा सरकारले पछिल्लो कदम अमेरिकी साम्राज्यवादी हस्तक्षेपको उपज भएको उल्लेख गरिएको छ ।
‘देश र जनताका विद्यमान यावत समस्याविरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वविरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको छ,’ प्रकाण्डले भनेका छन्, ‘यसको प्रतिवाद गर्न र प्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत, मानवअधिकार एवं कानुनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।’
उनले आफूहरूविरुद्ध जारी भएको पक्राउ पुर्जी तीनबुँदे सहमतिविपरीत भएको दाबी गरेका छन् ।
०००
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार खरिद नै नगरिएका सामानहरूको समेत दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने कार्य गरिएको भन्दै विशेष अदालतमा सोमवार मुद्दा दर्ता गरिएको हो ।
आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन लिएको, बिलअनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको अनुसन्धानबाट खुलेको हो ।
०००
कोरोना भाइरसको संक्रमणका कारण सोमवार थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । कूल ५ हजार ९ सय ९ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार ३ हजार ६ सय ८५ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ३२ र २ हजार २ सय २४ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ पुगेको छ ।
०००
असारयता नेपालमा ३७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
असार २ गते राजधानीको बागबजारमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका १० जना रहेका छन् ।
कुल संक्रमितमध्ये हाल ३ जना हैजाका बिरामीको अस्पतालमा उपचार भइरहेको छ ।