
उसो त साउनमा खीर खाने नेपाली चलन नै हो । साउन १५ लाई खीर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खीर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ ।
यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए । मन्दिरका मूलपुजारी जयबहादुर खड्काले साउनमा शक्तिस्वरुपा देवीलाई खिर चढाउने परम्परा रहेको सुनाए । “मङ्गलबार बिहान ९ बजेको शुभसाइतमा देवीलाई खिर चढाइयो”, उनले भने, “यो हाम्रा पूर्वजले बसालेको परम्परा हो ।”
पहिले–पहिले मन्दिरमा चढाएपछि मात्र बल्ल घर–घरमा खिर पकाएर खाने चलन रहेको पुजारी खड्काले बताए। उनका अनुसार मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर चढ्दैन । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ ।
नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका दर्शनार्थीलाई प्रसादीका रूपमा खिर खुवाउने गरिएको पुजारी खड्काले उल्लेख गरे। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भरतबहादुर खड्काले कालिका देवीलाई खिर खुवाउने चलन मौलिक संस्कृतिका रूपमा जीवित रहेको बताए ।
“विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घर–घरमा खिर फुक्ने गरेको हाम्रा पितापुर्खाले बताउने गर्नुहुन्थ्यो, सोही परम्परालाई हामीले पनि धान्दै आएका छौँ”, उनले भने, “साउन महिनामा खिर खाने नेपाली मान्यतासँग यो पनि सम्बन्धित छ ।”
समितिका सहसचिव अर्जुन खड्काका अनुसार देवीलाई खिर चढाउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित विशिष्ट व्यक्तिहरू सरिक भएका थिए । आमन्त्रित पाहुना र भक्तजनलाई प्रसादस्वरुप खिर खुवाइएको थियो ।