०१ असार २०८३, सोमबार

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुुने

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुुने
प्रतिकात्मक तस्वीर

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आईपीओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ ।

आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । 

समयअनुरूप पर्यटकलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेस्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी सेवा सञ्चालन गरिने उनले बताए ।

उक्त समयपश्चात् इच्छुक पर्यटकहरूले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेस्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ ।

उनले भने, ‘रेस्टुरेन्टका लागि २५ हजार रुपैयाँ शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।’ 

केबुलकारभित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दशैंदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए ।

आगामी नयाँ वर्षदेखि केबुकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए । केबुलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए ।

केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म १ किलोमिटर ६०० मिटर दूरीको यात्रा गर्न पाउनेछन् । 

एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिज्मको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेको बताइएको छ । केबुलकार र चारतारे होटल निर्माणसहित कूल ३ अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इस्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने संकेत देखिएको उनले जानकारी दिए ।

यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडले केबुलकारसँगै आईपीओ शुरू गर्ने जनाएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आईपीओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए ।

शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरूलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा १ हजार ४०० जनालाई शेयर वितरण गरेको छ । परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिज्म इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्