१५ असार २०८३, सोमबार

घूस प्रकरणमा मुछिएका गोल्ड मेडलिस्ट उपसचिव भन्छन्– मुख्य सचिवसम्मको करीयर हो, सफाइ पाउँछु

साउन १८, २०७९
घूस प्रकरणमा मुछिएका गोल्ड मेडलिस्ट उपसचिव भन्छन्– मुख्य सचिवसम्मको करीयर हो, सफाइ पाउँछु

६ लाख रुपैयाँ घुस तथा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालले आफ्नो करीयरमा दाग लागे पनि सफाइ पाउने दाबी गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपालले लोकान्तरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मेरो करीयर मुख्य सचिवसम्मको हो, तर एउटा दाग भने लाग्यो ।’

म्याद थप गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा लगेका बेला नेपालले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

‘मैले अहिले धेरै केही भन्दिनँ, बोल्नुपर्ने ठाउँमा म आफ्नो कुरा राख्ने नै छु,’ नेपालले लोकान्तरसँग भने, ‘विशेष अदालतबाट सफाइ पाउने नै छु, त्यसपछि तपाईं पत्रकारहरूसँग पनि सविस्तारमा आफ्नो कुरा राख्नेछु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २०७९ साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गस्थित एक होटलबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

विशेष अदालतमा आउँदा पनि उनी आत्मविश्वासी जस्तो देखिएका थिए । 

उता, पर्यटन मन्त्रालयमा भने बुधवार दिनभर कर्मचारीलाई कुरा गर्ने मसलाको विषय प्रमोद बने ।

मन्त्रालयका उच्च अधिकारीदेखि कार्यालय सहयोगी र चालकहरू समेत प्रमोदको विषयमा कुराकानी गरिरहेका भेटिए । 

मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘आज दिनभर मन्त्रालयका कर्मचारीहरूबीच कामभन्दा प्रमोद सरकै विषयमा गफ धेरै भयो ।’ 

गोल्ड मेडलिस्ट उपसचिव घूससहित पक्राउ परेको समाचारले पर्यटन मन्त्रालयमा मात्र नभई सिंहदरबाभित्र बुधवार दिनभर चासो र चर्चा रह्यो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो ।

पछि उनको गाडीको खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको भण्डारीले बताए ।

सोही मुद्दाको छानबिन गर्नका लागि ७ दिनको म्याद थप गराउन नेपाललाई विशेष अदालतमा उपस्थित गराइएको बेला नेपालले लोकान्तरलाई प्रतिक्रिया दिएका थिए ।

‘सन् २०१८/१९ को ब्याचमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्दा गोल्ड मेडल प्राप्त गरेको थिएँ,’ नेपालले लोकान्तरसँग भने, ‘त्यसपछि सरकारी छात्रवृत्तिमै इंग्ल्यान्डमा अध्ययन गरेको थिएँ ।’

शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनको सरकारी सेवामा १२ वर्ष भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्