१८ असार २०८३, बिहीबार

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्री खाँणको निर्देशन

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्री खाँणको निर्देशन
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन् ।

उनले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष समेत रहेका गृहमन्त्री खाँणले समितिको १४औं बैठकमा भने, ‘पूर्व तयारीका कारण नोक्सानी घटेको छ, भविष्यमा पनि नागरिकको जीवन तथा भौतिक सम्पत्ति जोगाउन सबै निकाय परिचालन गर्नुपर्ने दायित्व रहेको छ ।’

मन्त्री खाँणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बाटो अवरुद्ध हुनेलगायत घटनामा सबै सरकारी तथा सुरक्षा निकाय एवं सरोकारवाला संस्थासँग एकीकृत रूपमा काम गर्न निर्देशन दिएको पनि जानकारी दिए । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

सुरक्षा अधिकारीहरूले उदयपुरको सप्तकोसी बाढी लगायत मनसुनजन्य विपद्का घटनाको सन्दर्भमा आफ्नो निकायले गरिरहेका कार्य तथा तयारीबारे जानकारी गराए । विश्व खाद्य कार्यक्रमका आपतकालीन संयोजक रतीन्द्र खत्रीले मानवीय सहायता केन्द्रमा रहेको आपतकालीन सामग्रीको मौज्दातको अवस्था, नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले सप्तकोसी बाढीबाट उदयपुरको वेलका नगरपालिकाका प्रभावितलाई उपलब्ध गराइएको राहतबारे जानकारी गराए ।

मनसुन प्रतिकार्य कमान्ड टोलीका संयोजक एवं गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले मनसुन शुरू भएपश्चात् विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएका जानकारी दिँदै सप्तकोसीमा पानी कम भएकाले बेलका नगरपालिकाको अवस्था सामान्य हुँदै गएको बताए ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहने केन्द्रीयस्तरको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ लाई स्वीकृति दिएको छ । कार्यविधि स्वीकृत भएसँगै अब प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका तत्काल गर्नुपर्ने अत्यावश्यक कार्यका लागि कोषमा रहेको रकम खर्च गर्न सक्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्