२९ जेठ २०८३, शुक्रबार

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा टान

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा टान

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरेर माहोल आफ्नो पक्षमा बनाउन दौडधुप गरिरहेका छन् ।

निर्वाचनमा आकाङ्क्षीले चुनावी एजेण्डा व्यवसायीमाझ पस्किइरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायी रहेका छन् । उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा यो क्षेत्रको सुधारका लागि टेवा पुग्ने विश्वास लिएका छन् ।

टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म चार प्रत्यासी चुनावी अभियानमा छन् । वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले टान नेतृत्वका लागि आकाङ्क्षा देखाएका छन् । अध्यक्षका प्रत्यासीले व्यावसायिक छलफल र प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।

अध्यक्षका प्रत्यासीमध्येका पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान नेतृत्वमा पुगेको खण्डमा टानलाई पूर्ण व्यावसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रूपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवद्र्धनमा आफूलाई सक्रिय बनाउने बताए । 
 
टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने योजना सुनाका बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोतसाधनयुक्त बनाइने बताए । 

अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताए । 

अध्यक्षका प्रत्यासी कमल सापकोटाले पर्वतीय पर्यटनको विकास एवं प्रवद्र्धनका लागि सक्रिय भूमिका निर्वाह गर्ने योजनासहित टान नेतृत्वमा जान चाहेको बताए । 
पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी बोधराज भण्डारीले टानका साधारण सदस्यप्रति उत्तरदायी भएर काम गर्ने विश्वास व्यक्त गरे । 

आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय सदस्य रहेका छन् ।

टानका पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको अपरिहार्य भएको बताए । 

टानको आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहचिान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्ने बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । रासस
–––

salt training

कमेन्ट गर्नुहोस्