०१ असार २०८३, सोमबार

फेरि पनि ‘फ्लप’ भयो ‘चपली हाइट ३’

फेरि पनि ‘फ्लप’ भयो ‘चपली हाइट ३’

तेस्रोपटकको प्रदर्शनमा पनि चलचित्र ‘चपली हाइट–३’ ‘फ्लप’ सावित भएको छ । अर्जुनकुमार निर्मित चलचित्र गतवर्ष पुस ३० गतेदेखि पहिलोपटक प्रदर्शनमा आएको थियो । त्यसबेला कोरोना भाइरसका कारण प्रदर्शनको तीन दिनमै हल बन्द हुँदा प्रदर्शन स्थगित हुन पुगेको थियो । निर्माता अर्जुनले फागुन १ गतेदेखि आफ्नो चलचित्रलाई दोस्रोपटक प्रदर्शनमा ल्याएका थिए । त्यसबेला कोरोनाका कारण एक महिना हल बन्द भएर भर्खरै खुलेको थियो । उक्त समय पनि चलचित्र हेर्न हलमा दर्शक पुगेनन् । 

दुुई पटक नै प्रदर्शनमा आउँदा कोभिडको मारमा परेका कारण चलचित्र गत शुक्रबारदेखि तेस्रोपटक प्रदर्शनमा ल्याइएको थियो । तर, तेस्रोपटक प्रदर्शनमा पनि चलचित्र हेर्न दर्शकहरू हल पुगेका छैनन् । हलमा ४÷५ जना मात्र दर्शक रहेको हल सञ्चालकहरूले बताएका छन् । ‘चलचित्र हेर्ने दर्शक नै छैनन् । एक दुई दिनमा सबै हलबाट उत्रिसक्छ’, एक हल सञ्चालकले लोकान्तरसँग भने । 

आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवालगायतका कलाकारहरूको अभिनय छ । क्राइम र थ्रिलर जनरामा ‘चपली हाइट–३’ निर्माण भएको हो । ‘चपली हाइट’ र ‘चपली हाइट २’ भने सफल भएका चलचित्र हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्