
मल्टिस्टारर चलचित्र ‘लाखे’ को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । अब, पूर्वनिर्धारित मिति भदौ ३१ गते चलचित्र प्रदर्शनमा आउने छैन ।
चलचित्रको भीएफएक्स, मिक्सिङलगायतका प्राविधिक कार्य मुम्बईमा भइरहेको र पूर्वनिर्धारित मितिमा तयार नहुने देखिएकाले प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए । उनका अनुसार चलचित्र अब कात्तिक ११ गतेदेखि दर्शकमाझ आउनेछ । चलचित्रले नयाँ प्रदर्शन मितिका लागि तिहार रोजेको हो ।
चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा लगायतको अभिनय छ ।
सिजन अर्यालको कथा, आकाश बरालको पटकथा रहेको चलचित्रको निर्माता सिजनसँगै जि.एम ठकुरी हुन् । सस्पेन्स, थ्रिलर र एक्सन जनरामा चलचित्र निर्माण भएको हो ।