१० असार २०८३, बुधबार

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ ।

यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी  गर्नका लागि थप सहज भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ ।

इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

लगानीकर्ताहरूले आफ्नो मोबाइल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सकिनेछ ।

यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्नेछ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने कम्पनीले जनाएको छ । 

इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । 

टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने,'आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ।'

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्