१० असार २०८३, बुधबार

सांसद विन्दा पाण्डेको माग- लैंगिक हिसाबले समानुपातिक संख्यामा उम्मेदवार बनाइयाेस्

सांसद विन्दा पाण्डेको माग- लैंगिक हिसाबले समानुपातिक संख्यामा उम्मेदवार बनाइयाेस्

नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छन् । 

मंगलवारको प्रतिनिधि सभा बैठकमा आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानून मन्त्रीको ध्यानाकर्षण गराउँदै उनले यस्तो बताएकी हुन् । 

सांसद पाण्डेले अब हुने स्थानीय तह निर्वाचनमा पनि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवार व्यवस्था गर्नेपर्ने बताइन् । त्यस्तै, दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिनसक्ने व्यवस्था गर्नुपर्ने उनले बताइन् । 

सांसद पाण्डेले संघीय संसद र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्ने माग गरिन् । त्यस्तै, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको लागि पनि एउटै व्यक्ति, एउटै पदमा बढीमा दुई पटक मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिइन् । 

‘कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैका लागि मतदाता मात्रै बन्नुपर्ने जुन अवस्था छ, यसको अन्त्य जरुरी छ’, उनले भनिन्, ‘यदी कुनै व्यक्ति संसदको लागि अपरिहार्य छ भनेर सम्बन्धित दलले अनुभुति गर्छ भने त्यस्ता व्यक्तिलाई फरक निर्वाचन प्रणाली वा फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नसक्ने व्यवस्था गर्न सकिन्छ । तर एउटै प्रणाली र एउटै क्षेत्रबाट निरन्तर आजीवन उम्मेदवार हुने प्रवृत्तिको अन्त्य आवश्यक छ ।’

उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गरेर सो प्रावधानहरु ल्याउन माग गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्