
सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् ।
बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसा विरुद्धको ऐन संशोधन हुनु, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताए ।
उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गरे । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे ।
उनले भने, ‘सरकारले ३–४ वटा युगान्तकारी कामहरू गरेको छ । शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अब मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुन गइराखेको छ । यही सदनले महिला हिंसा विरुद्धको ऐन संशोधन भएको छ । यही सदनले नागरिकता सम्बन्धी ऐनलाई संशोधन गरेको छ । यो युगान्तकारी, ऐतिहासिक कामहरू सरकारले गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नुहुन्छ ? यो पनि ठीक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं ? जबकी पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिपक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ । र, हुनुपर्छ । प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो तर त्यो रचनात्मक विपक्ष हुनुपर्दछ तर अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भइराखेको छ । म चाहन्छु – सम्माननीय अध्यक्ष महोदयमार्फत् सकारात्मक सोच लिएर आउनुस् । अनावश्यक ढंगले तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरूको प्रयोग गरेर, विषयहरू उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तीतो राजनीतिक वातावरण हामी नबनाऔं । किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरू छन्, हाम्रो देशको अगाडि, पिपुलको अगाडि । जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरू एक भएर जानुपर्ने स्थिति छ । यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाहिँ अनुरोध गर्न चाहन्छु ।’
सांसद देवले मुख्य राजनीतिक दलहरू अझै पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाए ।