
बागमती सफाइ महाअभियानको ४८३औँ हप्तामा शनिवार तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ । उक्त सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।
सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, महानगरपालिका वातावरण विभाग टेकु, बागमती फोहर उन्मूलन उपभोक्ता संस्था, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीलगायतको सक्रियता थियो ।
सो अवसरमा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष तिमल्सिनाले छ वटा संस्थालाई ५०० लिटर क्षमताका फोहरबाट मल बनाउने बिन वितरण गरेका थिए । सहयोगी नगर क्रियापुत्री भवन तीनकुने, महानगरपालिका–३१ क्रियापुत्री भवन, पचली भैरव मन्दिर परिसर, जेष्ठ नागरिक समाज शंखमूल, कीर्तिपुर ज्येष्ठ नागरिक भवन र ललितपुर महानगरपालिका–४ नक्खु मन्दिर परिसरका लागि बिन वितरण गरिएको थियो । अबदेखि यी स्थानबाट निस्केका फोहरबाट मल बनाई उपयोग गर्न मिल्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
२०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरू भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी काठमाडौं उपत्यकाबाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानीबाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।
यसैगरी शनिवार गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । रासस