
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए ।
उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताए । ओलीले जातको पहिचान खोज्ने नभई सबै नेपालीले नेपालीको पहिचान खोज्न आवश्यक रहेको बताए । जातीय पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । ‘अहिले गठबन्धनमा भएका सरकारले दुश्मनीतिर राजनीति लैजान खाेजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिष्पर्धातिर जाने की दुश्मनीतिर ?’, उनले भने, ‘कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेण्टमा ल्याउन खोजिन्छ । हाम्रो पहिचान भनेर । नेपाली पहिचान । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्यो । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको उनले बताए । घर-घडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको उनले बताए । उनले सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान गरेको दाबी गरे ।
अध्यक्ष ओलीले देशको विकासका लागि काम गर्दा विरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिबद्धता जनाए । उनले कुनै पनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे । ‘मेरो डेडिकेशन छ, तर इनएक्टिभ खालको होइन, एक्टिभ छ । जबसम्म म जीवित रहन्छु देशका लागि जनताका लागि रहन्छु । कुन्ती मोक्तानले गाएको म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर भने झैँ छु । गीत पनि गाउँदै गर्छु अघि पनि बढ्दै गर्छु । आफ्नो कुरामा आफ्नो अभियानमा म अघि बढिरहन्छु । म युवाहरू भन्दा कम सक्रिय छैन,’ उनले भने ।
अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरू परिवार पाल्न विदेश जानुपरेको बताउँदै उनले यो क्रम माओवादी जनयुद्धपछि शुरू भएको बताए ।