
बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।
दशरथचन्द नगरपालिका–४ बिनासौंमा स्थानीयले जंगली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बुधवार बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् ।
उनले भने, ‘चितुवाको ढाडमा पासो परेको छ । उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बैतडी आउँदैछ ।’
उद्धार टोली बुधवार बेलुकासम्म आइपुग्ने बताइएको छ । ‘त्यतिबेलासम्म नेपाली सेनाको टोलीले चितुवालाई खोरमा हाल्ने प्रयास गर्नेछ,’ कँडेलले भने ।