काठमाडौँ, १४ साउन - हास्य कलाकार हरिवंश आचार्यले मानव सेवा आश्रमलाई आज रु ७० हजार आर्थिक सहयोग गरेका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा आचार्यले रकम आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उपलब्ध गराएका हुन् । उनले लेखेको ‘हरिबहादुर’ नामक कृति बिक्री गरी आएको रकममध्येबाट उक्त रकम सो आश्रमलाई प्रदान गरिएको हो ।
देशका विभिन्न आठ जिल्लाका नौ स्थानमा आश्रमको सञ्जाल विस्तार गरिएको छ भने ती आश्रममा करिब ३०० जना आश्रित रहेको बताइएको छ ।
सोही कार्यक्रममा विभिन्न समयमा आश्रमलाई सहयोग उपलब्ध गराएका विभिन्न संस्था तथा समाजसेवीलाई सम्मानसमेत गरिएको थियो ।
यसअघि नै ज्योति विकास बैंकले रु दुई लाख ५० हजार, नेपाल होटल व्यवसायी संघले मासिक रु आठ हजार तथा समाजसेवी डा कपिलदेव उपाध्यायले रु एक लाखका साथै आश्रममा रहेका मनोरोगीलाई निःशुल्क उपचार उपलब्ध गराएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
हास्य कलाकार आचार्यले समाजमा विभिन्न कारणले दुःख पाइरहेका दिन दुःखीलाई हेरचाह गर्ने उद्देश्यले स्थापना गरिएको सो आश्रमले गरेका सामाजिक कार्यबाट अरुले पनि प्रेरणा लिनुपर्नेमा जोड दिए ।
यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो आश्रममा पुगेर त्यहाँको गतिविधिबारे जानकारी लिएको र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको आश्रमले जनाएको छ ।