१२ साउन २०८३, मंगलबार

माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

भदौ २५ गतेसम्म उम्मेदवार छनौट गरिसक्ने
माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । 

बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

पार्टी एकता संयोजन समितिमा एकीकृत समाजवादीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू रहनुपर्ने सुझाव पनि बैठकले दिएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

एकीकृत समाजवादीले भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको खतिवडाले बताए । नेकपा एमालेबाट विभाजित भएपछि अघिल्लो वर्ष भदौ ९ गते एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो । 

त्यसबाहेक आगामी प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवार चयन गर्नका लागि उम्मेदवार छनौट विधि सहितको निर्देशिका बैठकले पारित गरेको खतिवडाले बताए । स्वीकृत मापदण्डअनुसार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गर्ने विधि तय भएको छ ।

ती कमिटीले १ जना महिलासहित ४ जना संघीय सांसदका लागि र प्रदेश सभाका लागि पनि १ जना महिलासहित ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाउनुपर्नेछ । 

आगामी भदौ २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाउने निर्णय पनि भएको उनले बताए । बैठकले पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनमा पनि हेरफेर गरेको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्