
कृष्ण जन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सीजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का,अभिनेत्री श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रविन्द्र झा,निर्देशक दीपक ओली,गायक रबि ओड,गायिका सुनिता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए । कन्सर्टमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
ओएसिस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । त्यसैगरी बुद्धि तामाङ र रबिन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए । गायक रबि र गायिका सुनिताले ‘अटल बाच गरें’ गाउँदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । चितवनबासी दर्शक श्रोताबाट पाएको माया,सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए ।