निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा योजना बनाएर पेश निर्देशन दिएको हो ।
यस्तै अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको विवरण तयार गरी सोही अनुसारको सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।
सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाको लागि सेवा निवृत्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका जनशक्तिलाई प्राथमिकता दिएर परिचालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
यस्तै विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने व्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ ।