
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्।
आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्।
दिवंगत माओवादी नेता रामवृक्ष यादवको २८औं स्मृति दिवसका अवसरमा बिहीवार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजितका कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी नेताहरू अहिले स्वार्थी बन्दै गएको टिप्पणी गरे।
'हामी हिजो जस्तो क्रान्तिकारी छैनौँ, व्यक्तिवादी भएका छौं, स्वार्थी भएका छौं। राष्ट्रका लागि, क्रान्तिका लागि कसरी त्याग गर्ने भन्ने होइन आफ्नै लागि कसरी गर्ने भनेर लागेका छौं', माओवादी नेताहरूप्रति लक्षित गर्दै प्रचण्डले भने, 'हामी सामूहिक भावनाबाट, टिम स्पिरिटबाट जाने भन्दा स्वार्थ समूह बनाउनेतिर उद्दत् हुन थालेका छौं। यसले पार्टीको क्रान्तिकारी चरित्रमा नराम्रोसँग स्खलन आएको छ।'
दस्तावेज, किताब र भाषणमा चाहिँ अहिले पनि क्रान्तिकारी नै देखिने गरेको प्रचण्डले बताए। तर, नेताहरूको व्यवहार, आचरण र दैनिकी दस्तावेज र भाषणसँग नमिल्ने बताए।