
काठमाडौं, १५ साउन — भारतको पश्चिम बंगालबाट छुट्टिएर बेग्लै गोर्खाल्यान्ड राज्य बनाउने मागसहित चर्केको आन्दोलनमा थप दुई व्यक्तिको मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाका एक नेताले बताएका छन् ।

प्रशासनले भने प्रहरीले गोली नचलाएको र कसैको पनि मृत्यु नभएको बताएको छ । एकजनालाई टाउकोमा गम्भीर चोटपटक लागेको र अस्पतालमा भर्ना गरिएको चाहिँ उसले स्वीकार गरेको छ ।
उक्त व्यक्तिको उपचार चलिरहेको र उसको अवस्था स्थिर रहेको नाम नबताउने शर्तमा एक अधिकारीले बताए ।
गोजमोका उपाध्यक्ष विशाल क्षेत्रीले चाहिँ सुखनामा प्रदर्शन गरिरहेका ४०० आन्दोलनकारीहरूमाथि प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको बताए । तर गोजमोका महासचिव विनय तामाङले भने चारजना घाइते भएको र दुईजनाको अवस्था अत्यन्त गम्भीर रहेको बताए ।
शनिवार गोर्खाल्यान्ड समर्थहरूले खुकुरीसहित –याली निकालेका थिए । प्रहरीको घेरा तोड्दै अघि बढ्ने क्रममा उनीहरूमाथि लाठीचार्ज गरेको तर गोली नचलाएको स्रोतले बतायो ।
तर क्षेत्रीले शान्तिपूर्ण –यालीमा प्रहरीले गोली चलाएको बताए ।
गोर्खाल्यान्डको माग गर्दै आन्दोलन गरिरहेका दलहरूले केन्द्रीय सरकारलाई दबाब दिन सिक्किममाथिको नाकाबन्दी चर्काउने चेतावनी दिएका छन् । दश दिनभित्र यस विषयमा हस्तक्षेप गर्न उनीहरूले केन्द्र सरकारलाई माग गरेका छन् ।
एजेन्सी