११ असार २०८३, बिहीबार

भूमिहीनको तथ्यांक प्रविष्टिका लागि क्याम्पससँग सम्झौता

भूमिहीनको तथ्यांक प्रविष्टिका लागि क्याम्पससँग सम्झौता
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक प्रविष्टिका लागि आदिकवि भानुभक्त क्याम्पससँग सम्झौता गरेको छ । 

नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्यांक प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित भानुभक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो । 

नगरपालिकासँग जनशक्ति कम भएको र तथ्यांक प्रविष्टिका लागि धेरै समय लाग्ने भएकाले प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी तथ्यांक प्रविष्टिका लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

नगरपालिकाले सबै वडामा निवेदन संकलन गरेकामा व्यास १, २ र ३ निवेदन दर्ताको निस्सा वितरण भइसकेको छ । बाँकी वडाका करीब ५ हजार ५०० तथ्यांक प्रविष्ट गर्न बाँकी रहेको छ । 

तथ्यांक प्रविष्टि गर्ने संख्या धेरै भएको र नगरपालिकासँग त्यसका लागि ३ जना मात्रै जनशक्ति भएकाले छिटो गर्नका लागि द्विपक्षीय सम्झौता गरी काम अगाडी बढाउन लागिएको उनले जानकारी दिए ।

‘अहिलेको जनशक्तिले प्रतिव्यक्ति दिनमा २०/२५ वटा मात्रै प्रविष्टि हुने रहेछ, त्यसरी काम गर्दा कम्तीमा १ वर्ष लाग्ने देखियो,’ उनले भने, ‘काम समयमा नसक्ने भएकाले छिटो प्रविष्टिको काम सक्न सम्झौता गरेर आदिकविको जनशक्ति प्रयोग गर्न लागिएको हो ।’

आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीलाई प्रयोग गरी तथ्यांक प्रविष्टिको काम गर्ने भएको छ । एउटा फाइल प्रविष्टि गरेको नगरपालिकाले ४० रुपैयाँ दिने गरी सम्झौता भएको छ । ‘आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि पनि सहयोग पुग्ने देखियो,’ प्रशासकीय अधिकृत नागिलाले भने, ‘१ जना विद्यार्थीले दैनिक ३०–३५ वटा अपलोड गर्न सक्छन् भन्ने छ ।’

१ महिनाभित्र तथ्यांक प्रविष्टिको काम सम्पन्न गरी निस्सा वितरणपश्चात् छिटोभन्दा छिटो लालपुर्जा दिने उद्देश्य राखिएको नागिलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्