११ असार २०८३, बिहीबार

कञ्चनपुर कारागारमा कैदीबन्दी व्यवस्थापन गर्न चुनौती

कञ्चनपुर कारागारमा कैदीबन्दी व्यवस्थापन गर्न चुनौती

कञ्चनपुर कारागारमा क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता छ ।

कारागारमा अहिले २० महिलासहित ४२९ पुरुषलाई राखिएको छ । तीमध्ये लागूऔषध मुद्दाका मात्रै १५२ रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदीबन्दीले पालो मिलाउँदै आएका जनाइएको छ ।

सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्था समेत छ । ‘थोरै पानी पर्दा समस्या छैन,’ कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भनिन्, ‘ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ।’ कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँ समेत नभएको उनले बताइन् ।
 
‘कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ,’ उनले भनिन्, ‘सबै भवन पुराना छन् । बर्सातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।’

उनका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेर समेत कैदीबन्दीलाई राखिएको छ । 

‘केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं,’ उनले भनिन्, ‘कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौं ।’ कारागारभित्र रहेका भवनमा ६ शौचालय र ८ बस्ने कोठा रहेका छन् ।

शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।

वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन् । ‘कोरोनाको संक्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको संक्रमण देखापरेको छैन,’ उनले भनिन्, ‘केही कैदीबन्दीमा भाइरल ज्वरोको संक्रमण देखिएकाले उपचार भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्