२९ असार २०८३, सोमबार

म राष्ट्रपतिको दौडमा छैनः झलनाथ खनाल

म राष्ट्रपतिको दौडमा छैनः झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । राष्ट्रपतिभन्दा पहिला पार्टीको निर्देशनअनुसार आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने खनालले बताए । उनी पछिल्लो समय राष्ट्रपतिको दौडमा रहेको चर्चा चलिरहेको छ । उक्त चर्चाप्रति लक्षित गर्दै उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेका हुन् । 

पार्टी प्रशिक्षणको लागि गुल्मी आएका खनालले पत्रकार सम्मेलनमा देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको लागि नभएर पार्टीका निम्ति भएको बताए । त्यस्तै आफू सधै वाम एकताको पक्षमा रहेको समेत उनले उल्लेख गरे । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकरात्मक छैनन’, उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेबाट विद्रोहको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको जिकिर गरेका छन् । छोटो समयमै २१ वटा जनसंगठनसँगै नवोदित क्रान्तिकारी पार्टी स्थापित हुनु सुखद विषय भएको उनले बताए । उनले अहिले देशमा सवै पार्टीलाई सकस भए पनि नजिकैको निर्वाचनले नयाँ समाजवादी नेतृत्व खोजेको बताए । 

पार्टी एकताको लागि वैचारिक, राजनीतिक, सांगठनिक एवं सैद्धान्तिक सहमति आवश्यक भएकाले चुनाव अघि पार्टी एकीकरणको सम्भावना नभएको स्पष्ट पारे । ‘अहिले पार्टीहरूका बीच चुनावी तालमेल र सहयोग सम्बन्ध मात्रै सम्भावना रह्यो । भागवण्डाको बिषयमा आ–आफ्नै तर्क पेश भएका छन्’, उनले भने, ‘चुनावी तालमेल गर्छौ ।’ 

खनालले नागरिकतासँग मुलुकको राष्ट्रियताको विषय जोडिएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले सदनमा अल्पमत र बहुमतभन्दा दूरदर्शी निर्णयका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । उनले अहिले नेतृत्वमा नयाँ अनुहार जनताले खोजेको बताए । तर, उमेरसँगै योग्यता र क्षमता भएको नेता र नेतृत्व आवश्यक रहेको बताए । युवाले पद मात्रै खोज्न बल गरेर मात्रै नहुने भएकाले क्षमताको पनि विकास गरे पहिलो पुस्ता स्वभाविक रूपमा विस्थापित हुने खनालले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्