१० असार २०८३, बुधबार

महिला सशक्तिकरणका निम्ति सोचाइमै परिवर्तन आवश्यक

महिला सशक्तिकरणका निम्ति सोचाइमै परिवर्तन आवश्यक

महिला सशक्तिकरणका निम्ति सोचाइमै परिवर्तन आवश्यक भएको सरोकारवालाहरूले औँल्याएका छन् । राजधानीमा सोमवार आयोजित ‘एनएमबी वमिन लिडरसीप इम्पावर’ नामक अन्तरक्रियामा सहभागीहरूले महिलाको लागि समानता, अवसर र विविधिकरणसँगै व्यक्ति व्यक्तिको सोचाइको परिवर्तन नै महत्वपूर्ण हुने औँल्याएका छन् । 

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले आफैँ सहभागी जेसिजको एक अन्तर्राष्ट्रिय कार्यक्रममा महिलामाथि गरिएको विभेद स्मरण गर्दै भनिन्, ‘जेसिजको उपध्यक्षमा उम्मेदवारी दिएको बेला ३ वटा देशका प्रतिनिधिले महिला भएकै कारण भोट दिन नसक्ने बताएका थिए ।’ यस्तो विभेद भनेको मानसिक रूपमा फराकिलो भएर सोच्ने क्षमताकै कमजोरी भएको उनले अथ्र्याएकी छन् ।

उनले हरेक महिलाले आफूले गर्न सक्छु भनेको काम विश्वासका साथ शुरु गरेपछि नै सफल हुँदै अगाडि बढ्न सक्ने बताइन् । श्रेष्ठले आफूले व्यवसाय शुरु गर्दा अनेकौ चुनौती र अहसज अवस्थाको सामना गर्दै अगाडि बढेकोले नै सफल हुन सकेको तर्क दिएकी छन् । 

महिलालाई घरबाट निस्कन नदिने र बाहिर जाँदा पनि साथी लिएर जानुपर्ने अवस्थाबाट आएको स्मरण गर्दै भनिन्, ‘अहिले धेरै सहज अवस्था भएकोले महिलालाई अगाडि बढ्न सहज हुँदै गएको छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष तथा उद्यमी भवानी राणाले हरेक व्यक्तिको माइण्ड सेटलाई परिवतर्न गर्ने र कन्फिडेन्सको लेभल बढाउनुपर्ने पनि बताइन् । उनले भनिन् ‘फरक समूदायबाट आएका महिलालाई संघर्ष गर्न र स्थापित हुन झनै गाह्रोको अवस्था अझै छ । त्यसका लागि हरेक क्षेत्रका महिलाले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने हुन्छ ।’ राणाका अनुसार शुरुका दिनमा आफैँले पनि निकै संघर्ष गरेर अगाडि बढेका कारण नै अहिलेको एउटा क्षेत्रमा स्थापित हुन सकेको तर्क गरिन् ।

सो अन्तरक्रिया कार्यक्रममा एनएमबी बैंककी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर प्रनिसा श्रेष्ठले पहिले लिंगका आधारमा दिइने रोजगारी अहिले परिवर्तन भएर क्षमताका आधारमा हुन थालेको बताइन् । उनले भनिन् ‘महिला पुरुषमाथिको विभेद नै रोजगारी दिँदै शुरु हुने सोसाइटी परिवर्तन हुँदै गएको छ । जसको क्षमता छ उसले अवसर दिनुपर्छ भन्ने सोचाइको विकास भएको छ ।’ 

कार्यक्रममा महिला सञ्चारकर्मी चारु चट्टाले महिलाले पनि फरक तरिकाले सोच्ने र काम गर्नुपर्ने तर्क गरिन् । उनले महिलाले घरव्यावहारका जिम्मेवारीबीच पनि आफ्नो क्षमताअनुसार काम गर्नुपर्ने अवस्था रहेको बताइन् । उक्त कार्यक्रमको सहजीकरण पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्