२६ जेठ २०८३, मंगलबार

मलेसियामा भएको खेलमा तेक्वान्दोका पारस भण्डारी उत्कृष्ट घोषित

मलेसियामा भएको खेलमा तेक्वान्दोका पारस भण्डारी उत्कृष्ट घोषित

नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसीपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कास्य पदक जितेका पारस च्याम्पियनसीपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं पुम्से निर्णायक उपसमितिका संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसीपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् । उनले ग्योरोगीको महिला ४२ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी महिला ५९ केजी तौल समूहमा सुभांगी श्रेष्ठले कास्य पदक जितिन् । सिनियर ग्योरोगीतर्फ नेपालले दोस्रो स्थान हात पारेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपमा ग्योरोगीतर्फ नेपालले तीन स्वर्ण, तीन रजत र सात कास्य पदक जितेको थियो ।

यसअघि नेपालका अभिषेक बराल र आशुतोष बरालले स्वर्ण जितेका थिए । अभिषेकले पुरुष ८० केजी र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । यसैगरी पुजन खड्का, सुरज कार्की र अबास खानले रजत तथा पूजा कुँवर, अभिषेक डल्लाकोटी, श्रीचन्द्र कार्की, अफ्ताव खान र ज्वालासिंह गुरुङले कास्य पदक जितेका थिए ।

यसैगरी पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए । नेपाली खेलाडीले अब भियतनाममा हुने ११औँ एसियन जुनियर तेक्वान्दो च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने  छन् । जुनियर तेक्वान्दो च्याम्पियनसीप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्