०१ असार २०८३, सोमबार

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ली किसानलाई स्याउ टिप्न चटारो
प्रतिकात्मक तस्वीर

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैंचामा स्याउ टिप्न चटारो परेको छ । 

स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।

बगैंचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० रुपैयाँमा बिक्री शुरू गरेका छौं । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन् ।’

५ हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करीब १ हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौं । स्याउ लगाएको ४ वर्षपछि फल दिन थालेको छ । यो वर्षमा २८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताए ।

अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले मागअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न शहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् । कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यामी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कार्यालयले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग परिपक्व हुने भएकाले अहिले स्थानीय जात र गोल्डेन जातका स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् । १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार भएकोे तिला गाउँपालिका–२ मा रहेको कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ । कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको तथ्यांक संकलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गर्न सकिन्छ । सही तथ्यांक आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार परिपक्व भएको स्याउ मात्र खरिद गर्न व्यापारीलाई अनुरोध गरिएको छ । विशेषगरी कर्णाली राजमार्ग अन्तर्गतका स्याउ बगैंचा व्यापारीको आँखामा पर्ने गरेका छन् । दुवानीमा सहज हुने भएकाले गाउँका स्याउ बगैंचाभन्दा सडकले छोएका स्याउ बगैंचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

जिल्लाका ८ वटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हँुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ संकलन र बिक्रीमा रोक लगाएका थियो ।

जिल्लाको १ नगरपालिकासहित ७ गाउँपालिकाका किसान स्याउ खेतीमा लागिपरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्