
धन भएर मात्रै हुँदैन, मन पनि हुनुपर्छ भन्ने भनाइ प्रचलित छ । अहिलेको जमानामा मात्रै होइन, पहिला पनि धन हुँदाहुँदै पनि खर्च गर्न मन नहुने शासकहरू हुने गरेका इतिहासमा लेखिएका छन् ।
लेखक डोमिनिर लेपियर र लेरी कलिन्सको पुस्तक ‘फ्रीडम एट मिडनाइट’मा हैदराबादका निजाम ओसमान अली खानको कथा समावेश छ । सन् १९४७ मा भारत स्वतन्त्र हुँदा संसारका सबैभन्दा धनी व्यक्तिमा खानलाई नै चिनिन्थ्यो ।
उनीसँग धन, सम्पत्ति, सुनचाँदी, गहना थुप्रै रहेको थियो तर उनी लोभी थिए, पैसा खर्च गर्न सक्दैन्थे । सन् १९११ मा खान हैदराबादका निजाम बनेका थिए । हैदराबाद भारतमा गाभिनुअघिसम्म उनकै शासन थियो ।
पुस्तकका अनुसार उनी धनी हुँदाहुँदै पनि सामान्य पोशाक, चप्पल लगाउँथे । उनी सुत्ने ओछ्यानमा दरी मात्रै बिछ्याइएको हुन्थ्यो । उनी यतिसम्म लोभी थिए कि अगाडि गइरहेको कसैले चुरोट फाल्यो भने उनी ठुटा समातेर चुरोट तान्थे ।