
भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय जनता पार्टीले हालसम्म विभिन्न प्रदेशमा विधायक खरिद गर्नका लागि ६ हजार ३ सय करोड रुपैयाँ खर्च गरेको आरोप लगाएका छन् । दिल्लीको विधान सभामा उनले त्यस्तो आरोप लगाएका हुन् । हालसम्म कुल २७७ विधायक खरिद गर्न उक्त रकम खर्च गरेको केजरीवालको दाबी छ ।
भारतीय जनता पार्टीले हालसम्म गोवा, कर्णाटक, महाराष्ट्र, आसाम, मध्यप्रदेश, बिहार, अरुणाचल प्रदेश र मणिपुरमा सरकार ढालिसकेको छ । बिजेपीले दिल्लीमा आम आदमी पार्टीको सरकार ढाल्न प्रतिविधायक २० करोड रुपैयाँ मूल्य निर्धारण गरेको उनले आरोप लगाए ।
‘अप्रेसन लोटस’को नाममा प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र जीएसटीवापत आएको उक्त रकम विधायक खरिद गर्न तथा आफ्ना अर्बपति उद्योगी साथीहरूको ऋण माफ गर्नमा खर्च गर्ने गरेको केजरीवालको आरोप छ ।
जसरी सिरियल किलरले एकपछि अर्को हत्या गर्छ त्यही प्याटर्नमा मोदी सरकारले एकपछि अर्को प्रदेशको सरकार ढालिरहेको उनले बताए । ‘हरेक प्रदेशमा विधायक पछाडि सीबीआई र ईडी लगाएर तर्साउने गर्छन्, त्यसपछि पैसा दिएर विधायक खरिद गरी सरकार ढाल्ने गर्छन्,’ केजरीवालले भने, ‘तर आफ्नो पार्टीका नेताले गर्ने भ्रष्टाचारलाई जोगाउने गरेका छन् ।’
सत्ताको उन्मादमा सीआईबी तथा ईडीको दुरुपयोग गरिरहेको उनले आरोप लगाए ।