
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैंककमा शनिवारदेखि शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका झण्डै तीन सय प्रतिनिधिको सहभागिता छ ।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको र दोहोरो नागरिकताको अधिकार प्रत्याभूत गरेको सन्दर्भमा सरकारले नागरिकता विधेयक संसद्बाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको बताए । आइतवार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने उनले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल शर्माले विश्वमा अवैतनिक पर्यटन दूतको रूपमा रहनुभएका एनआरएनका प्रतिनिधिहरूले बढीभन्दा बढी पर्यटक नेपाल पठाउन आग्रह गरे ।
सांसद डा सूर्य पाठकले गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने विषयमा राजनीतिक दलबीच मतभिन्नता नभएकाले छिट्टै नागरिकता ऐन पारित हुने उल्लेख गर्दै मुलुकमा लगानीको प्रशस्त सम्भावना रहेकाले एनआरएनको भूमिका अग्रणी रहेको उल्लेख गरे ।
थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले यहाँ गैरआवासीय नेपालीको संख्या न्यून भए पनि एसिया क्षेत्रको सम्मेलनको आयोजना हुनु खुसीको कुरा भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक समृद्धिका लागि एनआएरएनले विदेशमा सिकेका सीप, ज्ञान र पूँजीको उपयोग गर्न आग्रह गरे ।
सम्मेलनमा संघका अध्यक्ष कुल आचार्यले संविधानमै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर उल्लेख गरिएको सन्दर्भमा ढिलै भए पनि संसद्ले नागरिकता विधेयक पारित गरेर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकामा सरकारलाई धन्यवाद ब्यक्त गर्दै नागरिकता ऐनले एनआरएनहरूको नेपालमा रहेको सम्पत्तिको रक्षा हुन्छ र नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
उनले गैरआवासीय नेपालीले पनि नेपालीसरह लगानी गर्ने अवसर पाएमा साना–ठूला ठाउँमा लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यसो भएमा नेपालमा लगानी बढ्ने र हाम्रो नेपालमा रहेको सम्पत्ति पलायन हुनबाट रोक्न यो कोशेढुंगा हुने बताए ।
‘मिलाप’ नाम दिइएको सो सम्मेलनमा महिला, युवालगायत संघका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले बताए । सम्मेलनमा वक्ताहरूले थाइल्याण्ड, म्यानमार र सिंगापुरमा रहेका रैथानेले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ)को मान्यता पाउनुपर्ने माग गरेका थिए ।
सम्मेलनका विभिन्न सत्रमा ५० भन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दा नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला युवाका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रित हुने गैरआवासीय नेपाली संघले जनाएको छ । सो सम्मेलनमा विभिन्न विषयगत विज्ञले आ–आफ्नो कार्यपत्रसमेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतवार सम्पन्न हुने छ । रासस