फिलिपिन्सको राजधानी मनिलाको दक्षिणतर्फ रहेको एक बन्दरगाहमा पुग्न लागेको एक जहाजमा आगो लागेको छ ।
आगो लागेको थाहा पाएपछि यात्रुहरू आत्तिए । कतिपय यात्रु ज्यान जोगाउन समुद्रमा हाम्फाले ।
घटना हुँदा जहाजमा ८७ मानिस थिए । तीमध्ये ४९ यात्रु र ३० कर्मचारी हुन् ।
एपी समाचार संस्थाका अनुसार, शनिवार भएको घटनामा ओरिएन्टल नामक जहाज मिन्डोरो प्रान्तको कालापन शहरबाट दक्षिण मनिलास्थित बन्दरगाहतर्फ जाँदैथियो ।
बन्दरगाहबाट लगभग एक किलोमिटर पर जहाजको डेकबाट धूँवा निस्केको थियो । एकछिनमै जहाजमा आगोका लप्का देखिए ।
आगो लागेपछि फिलिपिन्स कोस्टल गार्ड सक्रिय भए र सबै मानिसलाई बचाउन सफल भए ।
जहाजमा १६ वटा कार र ट्रक पनि राखिएका थिए ।
आगलागीको कारण खोजिँदै गरेको अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनामा भएको क्षतिका बारेमा पनि अनुसन्धान भइरहेको छ ।
हावा जोडले चलेका कारण आगोे दन्किएको यात्रुले बताए ।