
कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ ।
नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।
दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका टोलका वासिन्दा खुशी भएका छन् । खल्लाको किनारमा रहेको टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । २० वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुशीयाली छाएको मातादेवी नेपालीले बताइन् ।
यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताइन् । ‘बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो,’ उनले भनिन्, ‘बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौं र घरभित्र सुत्न पाएका छौं ।’
यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ ।
नगर प्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका वाचाहरू आफूले पूरा गरेको बताए । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए । टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ ।