२९ जेठ २०८३, शुक्रबार

त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्यो, झडपमा तीनजना घाइते

त्रिविको पत्रकार सम्मेलन नेविसंघले बिथोल्यो, झडपमा तीनजना घाइते

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले बिथोलिदिएका छन् । त्रिवि प्रशासनले त्रिवि परिसरमै गरेको पत्रकार सम्मेलन नेविसंघका कार्यकर्ताहरूले बिथोलिदिएका हुन् । 

त्रिवि प्रशासनले नेविसंघका कार्यकर्ताहरूले आक्रमणको धम्की दिएको, पटक–पटक तोडफोडमा उत्रिएको भन्दै सरकारसँग सुरक्षा माग गर्न पत्रकार सम्मेलनको आयोजना गरेको थियो । आफूहरूविरुद्ध गरिएको पत्रकार सम्मेलनस्थलमा नेविसंघका कार्यकर्ताहरू नाराबाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीपछि एमालेनिकट अनेरास्ववियुले प्रतिकार गरेको थियो । 

नाराबाजीसहित पुगेका नेविसंघका कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ताबीच केहीबेर घम्साघम्सी भएको थियो । दुई पक्षबीच केहीबेर झडप भएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । झडपमा दुईजना विद्यार्थी र एकजना प्रहरी घाइते भएका कीर्तिपुर प्रहरीले जनाएको छ । 

दुई पक्षबीचको झडपपछि अनेरास्ववियुले त्रिवि परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । आफूहरू त्रिवि परिसरमा रहेको फोहर र त्रिवि प्रशासनको बेथिति सफा गर्न लागिपरेको बरालले बताइन् । 

यसअघि त्रिविले विज्ञप्ति जारी गरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षा मागेको थियो ।

त्रिवि परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्रिविले यसअघि नेविसंघका सदस्यहरुले तालाबन्दी, घेराउ, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप लगाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्