१० असार २०८३, बुधबार

गोरो छालाका पर्यटन नहुँदा आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो : व्यवसायी

भदौ १३, २०७९
गोरो छालाका पर्यटन नहुँदा आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो : व्यवसायी

कास्कीको लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन् । 

केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन् । विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन ।

कोरोनाकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ ।

बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, ‘नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ । बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन ।’ 

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरू भएको छ । ‘१–२ जना कर्मचारी र आफैंले पनि पाउनालाई सेवा दिँदै आएका छौं,’ होटल व्यवसायी अधिकारीले भने, ‘बैंकको ब्याजले तिर्न सक्ने अवस्था छैन । घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौं, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौं । व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ ।’

घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका छन् । ‘आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने १–२ जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौं, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौं तर कोरोना संक्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ,’ होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भने, ‘सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ ।’ 

लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा रहेका लम्सालले बताए । ‘एशोसिएशनमा आवद्ध भने १०५ मात्र छन्, रिसोर्टदेखि साना होटलसम्म यहाँ छन्,’ लम्सालले भने ।

‘३ वर्ष भयो गोरो छालाका पर्यटक देख्न पाएका छैनौं, आन्तरिक पर्यटन फटफुट आएका छन्, जेनतेन त्यसैले धानिएका छौं,’ बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचनले भने, ‘बिदाका दिन दिउँसोको खाजा खाने गरी केही आन्तरिक पर्यटन बेगनासमा आउने गरेका छन्, यसले मात्र व्यवसाय धानिने अवस्था छैन ।’ 

बेगनासतालमा पाइने विभिन्न जात शहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपिया लगायतका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । ७ तालको बगैंचा शहरको रूपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिए । – ऋषिराम बराल/रासस

salt training

कमेन्ट गर्नुहोस्