
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थमन्त्रालयले सहमति दिएको छ ।
आइतवार अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
‘अर्थ मन्त्रालयले सुरक्षालाई आवश्यक पर्ने बजेट छुट्ट्याएको छ । कुन–कुन विषयका लागि कति छुट्टाएको छ भन्ने तथ्याङ्क आइसकेको छैन, तर १ लाख १५ हजार म्यादीको सहमति आएको छ,' प्रवक्ता पोखरेलले लोकान्तरसँग भने ।
प्रहरीले निर्वाचनका लागि पनि १ लाख २० हजार म्यादी चाहिने भन्दै गृहमन्त्रालयमार्फत अर्थसँग बजेट माग गरेको थियो ।
संघको निर्वाचनका लागि बनेको २५ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटीले चुनावमा १ लाख ५० हजार म्यादी प्रहरी आवश्यक पर्ने आकलन गरेको थियो ।
स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न र सुरक्षाका लागि थप म्यादी प्रहरी आवश्यक पर्ने जनाइएको छ ।
वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा प्रहरीले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।
यसपालि कारागार, प्रहरी, सेना लगायतले निर्वाचनमा सहभागी हुन पाउने भएपछि म्यादी प्रहरी थप गरिएको हो ।