
राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रवार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका थिए । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित थिए । कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए । उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए ।
मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । उनले उत्पादन बढाउने उद्योगहरू स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताए । उनले स्थानीयस्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना–साना उद्योगको योजनाहरू अगाडि बढाएको दाबी गरे । उनले सात वटै प्रदेशमा बिजनेस इन्कुभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरुको सख्या बढाउने बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए । उनले राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्धेश्य पनि उद्यमीहरू बढाउने भएको बताउँद भने, ‘लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौता अनुसार ४० लाख रुपैयाँको सिन्के धुप बनाउने मिसेन बनाउने छौँ । बजारमा दाँत कोट्याउने सिन्का पनि चीनबाट आउने भयो । धेरै नेपालीले टुथपीक बनाउने मेसिन बनाउन माग आएको छ । त्यस्तै किसानहरुको माग धेरै भएको पहाडमा कोदो कुट्ने मेसिन बनाउने योजना रहेको छ । त्यस्तै बाँसबाट उत्पादन गर्न सकिने सबै प्रकारका सामग्री बनाउने मेसिन बनाउने योजना रहेको छ । सम्झौता भए अनुसार केन्द्रले चालु आर्थिक वर्ष भित्र सक्नेछ ।’