०६ असार २०८३, शनिबार

बेगनासतालका डुंगा व्यवसायीमा पलाउँदै आशा

बेगनासतालका डुंगा व्यवसायीमा पलाउँदै आशा
फाइल फोटो

सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुंगा व्यवसायीमा आशा जगाएको छ । 

कास्कीको लेखनाथस्थित बेगनास तालका डुंगा व्यवसायीमा वर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । 

कोरोनाकै कारण साढे २ वर्षदेखि थला परेको डुंगा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुंगा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अब दशैंतिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ले बताए ।

विशेषगरी शनिवार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल शुरू भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउँछन् ।

कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुंगा व्यवसायी विस्थापित भएको र केही डुंगा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुंगा व्यवसायी समितिले जनाएको छ । यतिबेला सबै डुंगा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ । 

पोखराकै दोस्रो ठूलो ताल ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा २४९ डुंगा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुंगा चढ्न अन्तरिक एवं बाह्य पर्यटक मन पराउछन् ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुंगा सञ्चालन गर्ने गरेका छौं,’ डुंगा व्यवसायी राम कोइराला भन्छन् । बेगनास तालमा १ घण्टा नौका विहार गरेबापत व्यवसायीले ६०० र पाइडलबोटको १ हजार रुपैयाँ लिने गरिएको छ । डुंगाबाट ताल वरपरका जंगल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृंखला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । 

बेगनास तालमा विक्रम संवत् २०३७ सालदेखि व्यावसायिक रूपमा डुंगा सञ्चालन हुँदै आएको हो । ३५ वर्षदेखि डुंगा व्यवसाय सञ्चालन गर्दै आएका शोभाखर कँडेल भन्छन्, ‘विक्रम संवत् २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुंगा व्यवसायका रूपमा मात्र थिएन । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुंगामार्फत छोटो बाटोको रूपमा ताल प्रयोग गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्