
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक संघले शनिवार काठमाडौंमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।
‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्याउन काम गरिरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक संघको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनले बताए । रासस