
भारतीय रेलले पछिल्लो तीन महिनामा ८४४ करोड भारतीय रुपैयाँ कमाएको छ । रेलवेले यस अवधिमा आफ्नो सम्पत्तिको ई–लिलामीमार्फत यो रकम उठाएको हो । रेलवेले पार्किङ स्पेस, परिसरमा विज्ञापन राख्ने ठाउँ, पार्सल र शौचालय भाडामा दिने ठेक्काबाट यो पैसा कमाएको हो ।
यो पोर्टल जुनमा शुरु गरिएको थियो
रेलमन्त्री अश्विनी वैष्णवले जुन २०२२ मा व्यावसायिक कमाइको लागि ई–लिलामी योजना शुरु गरेका थिए । ठेक्का बाँडफाँटको प्रक्रियालाई तीव्रता दिन र साना व्यवसायीलाई काम सहज बनाउने उद्देश्यले यो शुरु गरिएको थियो । अब यो योजना लाभदायक सौदा साबित भएको छ ।
रेलवेले हालसम्म १२ सय ठेक्का बाँडफाँट गरिसकेको छ । इ–अक्सन पोर्टल रेलको सम्पत्तिको वास्तविक मूल्य प्राप्त गर्न सहयोगी मात्र नभई यसबाट रेलको आम्दानीमा समेत वृद्धि भएको बताइएको छ । रेलवेको एक विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक सम्पत्तिहरूको लागि ई–लिलामी पोर्टल शुरु भएदेखि, गत तीन महिनामा जम्मा ८ हजार ५०० सम्पत्तिहरूको लागि लगभग १ हजार २०० अनुबन्धहरू प्रदान गरिएको छ । यी सम्झौताहरूको कुल मूल्य ८४४ करोड भारतीय रुपैयाँ रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रेलवेले प्रस्तुत गरेको तथ्यांकमा विज्ञापनहरूको लागि सबैभन्दा धेरै अनुबन्धहरू रेलवे स्टेशन परिसर र ट्रेनहरूको कोचहरूमा विज्ञापन राख्नेसँग सम्बन्धित छन् । यसका लागि ३७५ ठेक्काहरू लगभग १५५ करोड भारतीय रुपैयाँका छन् । यसबाहेक पार्किङस्थलका ३७४ ठेक्काबाट २२६ करोड, पार्सल एरिया लीजका २३५ ठेक्काबाट ३८५ करोड र सशुल्क शौचालयका २१५ ठेक्काबाट ७८ करोड रुपैयाँ प्राप्त हुनेछ ।
बेंगलुरुमा एकल लीजबाट ३५ करोड
ई–लिलामीबाट पार्सल क्षेत्रको लीज ठेक्काबाट ३४.५२ करोड रुपैयाँ कमाइ भएको छ । अर्कोतर्फ, पश्चिम रेलवेको मुम्बई डिभिजनमा ५३ सम्पत्तिको सम्झौताबाट ७४.४ करोड रुपैयाँ उठाइएको थियो ।
दिल्ली डिभिजनले आफ्नो सम्पत्ति भाडामा लिनको लागि ई–लिलामी पोर्टललाई पूर्ण रूपमा अपनाएको छ । यस मार्फत एसएलआर कोचका २७४ सम्पत्तिमध्ये १२ वटा ई–अक्सनका लागि सम्झौता भएको छ ।