पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सरकारमाथि लगातार आक्रमण गरिरहेपछि राजनीति विस्फोटक अवस्थामा पुगेको छ ।
खानले पूर्व प्रधानमन्त्री नवाज शरीफ र आसिफ अली जरदारीमाथि गम्भीर आरोप लगाउँदै यी दुवैले आफ्नो अनुकूलको सेनाप्रमुख ल्याउन लागेको आरोप लगाए ।
जरदारी र शरीफले जनताको पैसा लुटेको पनि उनले बताए । देशभक्त सेनाप्रमुख आएमा उनीहरूको लुटका बारेमा सोध्ने भएकाले आफ्नो अनुकूलको सेनाप्रमुख उनीहरूले ल्याउन खोजेको खानको आरोप छ ।
खानको बयानले सेनालाई पनि आक्रोशित बनाएको छ । पीटीआई नेताको यो बयान अपमानजनक भएको भन्दै सेनाका प्रवक्ताले आपत्ति जनाएका छन् ।
इमरान खानले सेनाप्रमुखलाई बदनाम र कमजोर बनाउन खोजेको पाकिस्तानी सेनाको भनाइ छ । सेनाले पाकिस्तानी जनताका लागि दिलोज्यान दिइरहेको बेलामा यसरी अपमान गर्नु गलत भएको प्रवक्ताले बताए ।
प्रधानमन्त्री शहबाज शरीफले इमरान खानको बयान विषालु भएको बताएका छन् ।
नोभेम्बर महिनामा पाकिस्तानमा नयाँ सेनाप्रमुख छानिनेछन् ।