
एउटा सानो, बाँच्न संघर्ष गरिरहेको मरुभूमिको देशलाई विश्वकै धनी, शक्तिशाली र प्रभावशाली आधुनिक राष्ट्रमा रूपान्तरण गर्ने 'आधुनिक कतारका मुख्य वास्तुकार' एवं 'फादर एमिर' शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान उनको निधनको औपचारिक घोषणा गरिएको थियो ।
राजनीतिक, आर्थिक र कूटनीतिक क्षेत्रमा कतारलाई विश्व मानचित्रको केन्द्रमा स्थापित गर्ने यी दूरदर्शी नेतालाई आइतबार साँझ कतारको राजधानी दोहामा राजकीय तर स्लामी परम्परा अनुसार अन्तिम संस्कार गरी बिदाइ गरियो । कतारको ठुलो र प्रसिद्ध मस्जिद 'इमाम मोहम्मद इब्न अब्द अल-वहाब मस्जिद' मा सूर्यास्तको दैनिक प्रार्थनापछि उनको जनाजाको प्रार्थना गरिएको थियो।
परम्परागत कतारी पोसाकमा सजिएका हजारौँ शोकाकुल नागरिकहरू हात बाँधेर कफनले बेरिएको शेख हमादको पार्थिव शरीरको अगाडि मौन उभिएका थिए। प्रार्थना सकिएपछि उनका छोरा एवं वर्तमान एमिर शेख तमिम बिन हमाद अल थानीसहित परिवारका निकट सदस्यहरूले उनको शवलाई काँध हालेर मस्जिद बाहिर ल्याएका थिए। उनलाई दोहाको उत्तरमा रहेको लुसेल चिहानमा साधारण चिहानमा समाधिस्थ गरियो ।
सैन्य पृष्ठभूमिदेखि सत्ताको बागडोरसम्म
सन् १९५२ को जनवरीमा दोहामा जन्मिएका शेख हमादले बेलायतको प्रख्यात 'रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट'बाट स्नातक गरेका थिए। त्यसपछि उनी कतारी सशस्त्र बलको कमान्डर बने। सन् १९७७ मा उनलाई कतारको उत्तराधिकारी र रक्षामन्त्री घोषित गरियो।
अन्ततः जुन २७, १९९५ मा उनले कतारको सत्ताको बागडोर सम्हाले। सत्तामा आउनुअघि नै उनी कतारसँग परम्परागत शक्तिका स्रोतहरूको अभाव रहेको कुरामा पूर्ण सचेत थिए। त्यसैले उनले भूगोलोत्तर सोच राख्दै देशलाई अघि बढाउन 'सफ्ट पावर'मा लगानी गर्नुपर्ने आवश्यकता बुझेका थिए।
ग्यास क्रान्ति र २४ गुणाले बढेको अर्थतन्त्र
शेख हमादको शासनकाल (सन् १९९५ देखि २०१३ सम्म) कतारको इतिहासमा 'स्वर्ण युग' मानिन्छ। उनको कार्यकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भयो । यो चमत्कारको मुख्य श्रेय देशको विशाल प्राकृतिक ग्यास स्रोत, विशेष गरी 'नर्थ फिल्ड'को अन्वेषण र विकासमा उनले लिएको साहसिक नीतिलाई जान्छ।
उनकै दूरदर्शी लगानीका कारण सन् २००६ सम्ममा कतार विश्वकै सबैभन्दा ठुलो तरल प्राकृतिक ग्यास निर्यातकर्ता मुलुक बन्न सफल भयो। कतारको सरकारी तथ्यांकअनुसार निकै छोटो समयमै देशको एलएनजी उत्पादन क्षमता प्रतिवर्ष ७ करोड ७० लाख टन पुगेको थियो। यही ग्यासको कमाइले कतारका नागरिकलाई विश्वकै उच्च प्रतिव्यक्ति आय भएका जनता मात्र बनाएन, कतारलाई अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रमा समेत उभ्याइदियो।

सफ्ट पावरका तीन स्तम्भ
शेख हमादले केवल ग्यास बेचेर पैसा मात्र थुपारेनन्, उनले त्यसलाई देशको दीर्घकालीन पहिचान बनाउन शिक्षा, स्वास्थ्य, वैज्ञानिक अनुसन्धान र खेलकुदमा प्रवाह गरे। उनले 'कतार फाउन्डेसन'को स्थापना गरेर विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूलाई कतारमा भित्र्याए ।
खेलकुदका माध्यमबाट देशको कूटनीतिक वजन बढाउने उनको सपना सन् २०२२ मा साकार भयो, जब कतारले फिफा पुरुष विश्वकपको सफल आयोजना गर्यो । मध्यपूर्व वा कुनै पनि अरब राष्ट्रमा विश्वकप आयोजना भएको यो पहिलो ऐतिहासिक अवसर थियो। सो विश्वकपको उद्घाटन खेलका क्रममा रंगशालामा उपस्थित लाखौँ फुटबल प्रेमीहरूले फादर एमिर शेख हमादलाई उठेर जोडदार गड्गडाहट तालीका साथ सम्मान प्रकट गरेका थिए।
विवाद सुल्झाउने 'दोहा मोडल'
आज कतारको राजनीतिक प्रभाव विश्वभर फैलिएको छ। कतारले धेरै जटिल अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा सफल मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ, जसमा हालैका वर्षहरूमा अमेरिका र इरानबिचको सैन्य तनाव कम गर्ने प्रयासहरूसमेत सामेल छन्। कतार युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिलाका सह-प्राध्यापक अब्दुल्ला बान्दार अल-इतैबी भन्छन्, 'हामी यस्तो व्यक्तिको कुरा गर्दैछौँ- जसले केवल कतारमा मात्र होइन, संसारभर आफ्नो अमिट छाप छोडेका छन्। उनले कतारलाई एउटा सामान्य मुलुकबाट एक असाधारण र विशिष्ट राष्ट्र बनाउन कडा मिहिनेत गरे।'
शेख हमादको कूटनीतिक नेतृत्वमा कतारले पूर्वी भूमध्यसागरदेखि 'हर्न अफ अफ्रिका' सम्मका जटिल विवादहरू सुल्झाउन महत्त्वपूर्ण भूमिका खेल्यो। सन् २००८ मा दोहाले लेबनानका विरोधी राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर ऐतिहासिक सम्झौता गराएको थियो । सन् २०११ मा सुडानका विद्रोही र सरकारबीच ३० महिना लामो वार्ता गराएर 'शान्तिका लागि दोहा दस्तावेज'मा हस्ताक्षर गराइएको थियो । प्यालेस्टाइनका दुई प्रमुख प्रतिद्वन्द्वी समूह हमास र फताहबीचको संवादलाई कतारले निरन्तर मध्यस्थता गरेको थियो । यमन, सोमालिया तथा इरिट्रिया र जिबुतीबीचको सीमा विवाद सुल्झाउन कतारले दुर्लभ कूटनीतिक नमुना प्रस्तुत गरेको अलजजीराले जनाएको छ । अमेरिकाकै अनुरोधमा कतारले दोहामा तालिबानको राजनीतिक कार्यालय खोल्न अनुमति दिएको थियो । यहीँ भएको वार्तापछि अन्ततः सन् २०२१ मा नेटो र अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएका थिए ।

कतारले एकातर्फ मध्यपूर्वमा सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा 'अल उदेइद सैन्य बेस' स्थापना गर्न ठाउँ दियो भने अर्कोतर्फ कूटनीतिक सन्तुलन कायम राख्दै हमासको राजनीतिक नेतृत्वलाई पनि दोहामा बस्ने ठाउँ दियो । कतिपयले उनलाई 'प्रतिरोधका एमिर' पनि भन्थे। सन् २०१० मा लेबनान-इजरायल युद्धपछि कतारी कोषबाट पुनर्निर्माण गरिएका दक्षिणी लेबनानका गाउँहरूको निरीक्षण गर्न उनी आफैँ त्यहाँ पुगेका थिए।
शेख हमादको मुटुको सबैभन्दा नजिक प्यालेस्टाइनको स्वतन्त्रता आन्दोलन थियो। सन् २०१२ को इजरायल-गाजा युद्धपछि गाजा पट्टीको भ्रमण गर्ने उनी विश्वकै पहिलो राष्ट्रप्रमुख बनेका थिए। उनले त्यहाँ पुगेर ४० करोड डलरको अनुदानमा आवास र पुनर्निर्माण परियोजनाहरू शुरू गरेको अलजजीराको रिपोर्टमा उल्लेख छ ।
उनको यही गुणको सम्मान गर्दै गाजा र दक्षिणी लेबनानका केही सहरहरूको नाम 'शेख हमाद सिटी' राखिएको छ। कतारले इजरायलसहित द्वन्द्वका सबै पक्षसँग सञ्चारको ढोका खुला राखे पनि आफ्नो राजनीतिक सिद्धान्त र प्यालेस्टाइनको मुद्दामा कहिल्यै सम्झौता गरेन। सन् २०११ को 'अरब स्प्रिङ' जनविद्रोहका बेला कतारले स्पष्ट रूपमा जनताको स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको समर्थन गरेको थियो।
संवैधानिक सुधार र सत्ताको शान्तिपूर्ण हस्तान्तरण
आन्तरिक राजनीतिक सुधारतर्फ शेख हमादकै नेतृत्वमा सन् २००४ मा कतारको पहिलो स्थायी संविधान जारी गरिएको थियो । देशमा नगरपालिका निर्वाचनको शुरूआत गरियो, जहाँ अरब इतिहासमै पहिलो पटक महिलाहरूलाई पनि मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्रदान गरिएको थियो ।
तर, उनको जीवनको सबैभन्दा साहसिक र दुर्लभ निर्णय सन् २०१३ मा देखियो । कतारलाई आफ्नो सपनाको आधुनिक स्वरूप दिइसकेपछि, जुन २५, २०१३ मा ६१ वर्षको उमेरमा उनले स्वेच्छाले सत्ता आफ्ना ३३ वर्षीय छोरा (वर्तमान एमिर) शेख तमिम बिन हमाद अल थानीलाई हस्तान्तरण गरेका थिए । वंशानुगत शासन व्यवस्था रहेको खाडी क्षेत्रमा जीवितै छँदा स्वेच्छाले युवा पुस्तालाई सत्ता छोडिदिने यो घटना निकै दुर्लभ र ऐतिहासिक थियो।
सत्ता त्याग गर्दै उनले भनेका थिए, 'भविष्य तिमीहरूको अगाडि छ । मातृभूमिका सन्तानहरू हो, तिमीहरू एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ- जहाँ युवा नेतृत्वले देशको झण्डालाई अझ उच्च राख्नेछ।'
उनको निधनमा खाडी क्षेत्रका मुलुकहरू र विश्वभरका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै कतारको आधुनिक रूपान्तरण र विश्व शान्तिमा उनले खेलेको कूटनीतिक भूमिकाको स्मरण गरिरहेका छन्। शेख हमाद भौतिक रूपमा अस्ताए पनि उनले छाडेर गएको समृद्ध, आधुनिक र प्रभावशाली कतारको विरासत विश्व इतिहासमा सधैँ जीवित रहनेछ। एजेन्सीहरूको सहयोगमा
तस्वीरहरू : एएफपी