०३ साउन २०८३, आइतबार

भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउने तयारी अगाडि बढाएको जानकारी दिए । 

पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक प्रभावकारी हुने भएकाले भ्रमण दशक कार्यक्रम अघि सारिएको उनले बताए । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफूले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको उनले बताए । 

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । नाथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रूपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रूपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको व्यवस्था गरिने उनले बताए । 

मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन–अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ । सार्क मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना अघि सारिएको छ । 

पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको ५० वर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । २ दिनसम्म चल्ने सम्मेलनमा देश–विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरूले पर्यटन क्षेत्रका विभिन्न आयामहरूबारे छलफल गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्