
विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम शुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँग भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेका छन् ।
एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, शहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डीपीआरको काम शुरु भइसकेको छ ।
निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीबीलाई आग्रह गरेका थिए । सोही आग्रहअनुसार एडीबीले विभिन्न परियोजनाको डीपीआर बनाउन शुरु गरिसकेको छ । हालसम्म भएको डीपीआरको अवस्थाबारे एडीबीका प्रतिनिधिले मेयर कोइराला र उपमेयर कार्कीलाई जानकारी गराएका थिए ।
विराटनगरको विकासमा विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीबीको टोलीसँग छलफल भएको क्षेत्रीय शहरी विकास परियोजना (आरयूडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । एडीबीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दैछ ।
मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए । ‘विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो’, मेयर कोइरालाले भने, ‘त्यसका लागि एडीबीले काम शुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौँ ।’
क्षेत्रीय सहरी विकास परियोजना (आरयुडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीबीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो ।