०७ असार २०८३, आइतबार

प्रचण्डको जवाफ : जनार्दनलाई रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ

प्रचण्डको जवाफ : जनार्दनलाई रक्षा गर्न र हुर्काउन मेरो मुख्य भूमिका छ
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का नेता एवं उपमहासचिव जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो मुख्य भूमिका रहेको दाबी गरेका छन्  । 

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बुधवार काठमाडौंमा आयोजना गरेको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले जनार्दन शर्मालाई राजनीतिक रूपमा रक्षा गर्न र हुर्काउन आफ्नो मूख्य भूमिका रहेको बताएका हुन् । 

प्रचण्डभन्दा अगाडि बोलेका शर्माले आफू प्रचण्डको आलोचक रहेको तर सधैं नीति र नेतृत्वको रक्षा गरेको अभिव्यक्ति दिएका थिए । 

शर्माले भनेका थिए, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु । नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको छु ।’

शर्माको अभिव्यक्तिबारे जवाफ दिने क्रममा प्रचण्डले भने, ‘जनार्दनजीले जाँदाजाँदै नीति र नेतृत्वको रक्षाको कुरा गरे । जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

आफूले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयारी होऊन् भन्ने सपना लिएको प्रचण्डले बताए ।

उनले भने, ‘मैले जनयुद्धको तयारी, जनयुद्ध, शान्ति प्रक्रिया र संविधान सभाको पनि नेतृत्व गरें । लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें । मेरा लागि धेरै चिज भएकै छ । अब मेरो सपना राम्रो उत्तराधिकारीहरू तयारी होऊन् । तिनले समग्र पार्टीलाई एकतावद्ध गरेर लैजाऊन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कूलिङ गरून् । हजारौं र लाखौं उत्तराधिकारी तयार होऊन् ।’

पार्टीमा पदाधिकारी चयनपछि प्रचण्ड र शर्माबीचको सम्बन्ध चिसिन थालेको छ । शर्माले पार्टीको महासचिव दाबी गरेको भए पनि प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए ।

शर्मा र अर्का नेता वर्षमान पुनले पार्टीमा गुट बनाएको भन्दै प्रचण्डले उनीहरूको नाम नलिई सार्वजनिक मञ्चहरूबाट आलोचना गर्न थालेका छन् । 

कमेन्ट गर्नुहोस्