
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने इम्प्लोई स्कील इन्ह्यान्समेन्ट वर्कसप सम्पन्न गरेको छ ।
वर्कसप एक्सल एन्ड इलेभेट २०७९/८० भन्ने नाराका साथ पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरिएको हो ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् ।
सम्मेलनमा विभागीय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरू गरी २०० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरूको पनि हुने बताए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू नियमित रुपमा संचालन गरिने जानकारी गराए ।
कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरू सम्बन्धमा गहन जानकारी गराएका थिए ।
सम्मेलनमा सहभागी कर्मचारीहरूलाई चर्चित संचारकर्मी एवं मिस नेपाल–२००५ सुगारिका के.सी.ले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।
नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रियाको महत्वमा प्रकाश पारे ।
सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।