०७ असार २०८३, आइतबार

१ नम्बर प्रदेश साक्षर घोषणा

१ नम्बर प्रदेश साक्षर घोषणा

१ नम्बर प्रदेशलाई बिहीवार साक्षर प्रदेश घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले प्रदेशलाई साक्षर घोषणा गरेको हो ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।

१ नम्बर प्रदेशमा १५–६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुगम जिल्लामा साक्षरता प्रतिशत कम देखिएको छ ।

पाँचथरमा ९७ प्रतिशत साक्षर रहेका छन् भने झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७.५ प्रतिशत, ओखलढुंगामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत, मोरङमा ९६.५ प्रतिशत छन् । प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला सुगममा पर्छन् । अन्य पहाडी जिल्लाको तुलनामा यी जिल्लामा साक्षरता कम देखिएको छ ।

तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८ प्रतिशत, उदयपुरमा ९५.३२ प्रतिशत, संखुवासभामा ९५.६३ प्रतिशत ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत प्रतिशत साक्षर छन् । १४ जिल्लाको जम्मा साक्षरता ९६.७४ प्रतिशत छ । 

नेपालमा २०७१ सालदेखि साक्षर जिल्ला घोषणा गर्न थालिएको छ । त्यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा विक्रम संवत २०६५ र २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ । 

नेपालमा निरक्षरता हटाउन सरकारले विक्रम संवत् २००४ सालदेखि नै  प्रौढशिक्षाको थालनी गरेको थियो । राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन–२०११ ले प्रौढ साक्षरता कार्यक्रमलाई कार्यान्वयन गर्न सिफारिस गरेपछि विक्रम संवत् २०१३ सालदेखि योजनाबद्ध रूपमा प्रौढ साक्षरता कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

१ नम्बर प्रदेशमा ४५ लाख ३४ हजार ९४३ जनसंख्या रहेकोमा ९६.७४ प्रतिशत साक्षर रहेको सामाजिक विकासमन्त्री राजन राईले बताए । प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा समेत प्रदेशलाई साक्षर घोषणा गर्ने उल्लेख गरिएको थियो । यो घोषणासँगै १ नम्बर प्रदेश तेस्रो साक्षर प्रदेश बनेको छ ।

यसअघि बागमती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिसकिएको छ । आगामी आर्थिक वर्षमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने मन्त्री राईले बताएका छन् ।

कमेन्ट गर्नुहोस्